पथरी : पथरी शनिश्चरे नगरपालिका ५ का मनोज शाहले करिब १० कट्ठामा लगाइएको तरकारी अहिले बारीबाट उठाउन पाएका छैनन् । तरकारी उठाएर बजार सम्म पुर्‍याउन नपाएकैले अहिले साहलाई ठुलो आर्थिक क्षति हुने तनाव छ ।

शाहका अनुसार वर्षनी उत्पादन गरिने तरकारी स्थानीय साप्ताहिक हाटमा बिक्री हुँदै आएको भए पनि लकडाउनले साप्ताहिक हाट बन्द भए सँगै उत्पादन भएका तरकारी बिक्री नभएको हो ।

साप्ताहिक हाट बन्द मात्र छैन स्थानीय बजारमा समेत भारतीय तरकारी आइरहेका छन् । विराटनगर रानी भन्सारका अनुसार बन्दाबन्दी लागू भएको चैत १० गते यताको २० दिनमा रानी नाकाबाट ५३३ मेट्रिक टन आलु, प्याज, हरियो केराउ, टमाटर लगायत तरकारी भित्रिएको तथ्याङ्क छ ।

भारतबाट आएका तरकारीले बजार पाइरहेको भए पनि आफूले उत्पादन गरेका तरकारी बजारसम्म पुर्‍याउन समस्या भएको भन्दै पथरीशनिश्चरे ५ जयनगरका तरकारी किसानले उत्पादित तरकारी सहज रूपमा बजारमा लग्ने प्रबन्ध गरिदिन माग गरेका छन् ।

Banda-kopi

आफूले उत्पादन गरेको तरकारी खेतमै नष्ट हुन थालेपछि तरकारीलाई सहज साथ बजारमा पुर्‍याउन सके तरकारी किसानको लाखौँ रुपैयाँ डुब्ने खतरा टर्ने उनीहरूको भनाइ रहेको छ । किसानहरूले उत्पादन गरेको तरकारी बजार सम्म पुर्‍याउन नगरपालिका र व्यापार सङ्घले पहल गरिदिन उनीहरूको माग रहेको छ ।

हाल पथरी बजार क्षेत्रमा भारत तथा अन्य पहाडी जिल्लाबाट तरकारी आयात भइरहेको छ । जयनगरबाट पथरी सम्म तरकारी ल्याउन भने समस्या रहेको यहाँका किसानले बताएका छन् ।

तरकारी खेतमै नष्ट भइरहेको छ भने पथरीवजार लगायतका क्षेत्रमा तरकारीको मूल्य आकासिएको छ । किसानले उत्पादन गरेको सब्जी बजार लैजान नपाएपछि बारीमै कुहिन थालेको छ । शाहले भने ‘लोकल गाडी मा हामी नै तरकारी पठाउँथ्यौ,अहिले गाडी नचल्दा तरकारी नै बिकेन’उनले भने‘साइकलमा कति तरकारी लगेर बेच्नु’।

शाहले १० कट्ठा मध्ये करिब ४ कट्ठामा बन्दा र बाँकीमा लटेको साग, भिँडी, प्याज उत्पादन गरेका छन् । बन्दा मात्रै प्रति कट्ठा १० क्विन्टल भन्दा बढी उत्पादन हुने गरेको शाह बताउँछन् । अघिल्लो वर्ष मात्रै शाहले प्रति कट्ठा १० हजार भन्दा बढी आम्दानी गरेका थिए यस वर्ष पनि सोही हाराहारीमा तरकारी उत्पादन गरी नाफा गर्ने सोच शाहको रहेको थियो ।

अन्य वेला किसानकै खेतमा तरकारी व्यापारी पुग्ने गरेका थिए तर यस वर्ष ‘लकडाउन’का कारण व्यापारीहरू घरमै रहेका छन् । लाखौँ रुपैयाँ लगानी गरेर उत्पादन गरेको तरकारी अति आवश्यक सामाग्रीका रूपमा सरकारले ढुवानी गर्न छुट दिए पनि किसानहरूले सस्तो दाम मै पनि ती तरकारी बेच्न सकिरहेका छैनन् ।

सामान्य अवस्थामा तरकारी किन्न व्यापारी घरमै आउने गरे पनि अहिले भने कोही पनि तरकारी खोज्न नआएको किसान हरि राजवंशी बताउँछन् । ५ नम्बर वडामा २० निगाह भन्दा बढी जग्गामा तरकारी खेती गरिएको छ ।

तरकारी खेती गर्दा गरिएको लगानी समेत नउठ्ला भन्ने चिन्ता थपिएको छ । ‘फल लागेको ३ दिन भित्रमा भिँडी टिप्न नसकिए छिप्पिएर जान्छ बजारमा लान सकिएन लगानी के उठ्ला र ’राजवंशीले भने ‘ पहिला दैनिक २ क्विन्टल माथि तरकारी खपत हुँदै आएको भए पनि अहिले सबै तरकारी खेतमै छन्’।

तरकारी खेतमै कुहिने अवस्था आएकोमा वडा सदस्य रेवत बस्नेतले नगरपालिकामा पहल गर्ने बताए । नगरसँग छलफल गरेर तरकारीलाई बजार पठाउन समन्वय गर्ने वडा सदस्य बस्नेत बताउँछन् । ‘बजारमा सब्जीको अभाव र गाउँमा किसानको सब्जी त्यसै थन्किने अवस्था भएपछि वडाले पनि समन्वय गरेर विकल्प खोज्न सुरु गरेका छौ’ बस्नेतले भने ।