धरान : अपरिचित मान्छे विना पास धरानको कुनै पनि नाकाबाट धरान प्रवेश गर्न नपाउने निर्णय भएको छ ।
धरान उपमहानगर स्तरीय सुरक्षा संयन्त्रको बैठकले सो निर्णय गरेको हो ।

उदयपुरको त्रियुगा नगरपालिकाका ३ को भुल्केमा रहेको मस्जिदमा बसेका ११ भारतीय सहित १ जना नेपाली मुस्लिममा हिजो कोराना भाइरसको संक्रमण भएको पुष्टि भएपछि धरानले उच्च सतर्कता अपनाउन थालेको हो । राति देखिनै धरान पश्चिमको धरान चतरा सडक खण्ड सिल गरिएको छ भने अरू धरानका नाकाहरूमा पनि कडाइ गरिएको छ ।

कोरोना भाइरसको सङ्क्रमणको उच्च जोखिम धरानमा पनि बढेको भन्दै आज धरान उपमहानगरपालिकामा बसेको सुरक्षा संयन्त्रको बैठकले धरानमा धरान बाहिरका अपरिचित मानिस कसैलाई पनि प्रवेश गर्न नदिने निर्णय गरेको छ । धरानको नाकाबाट धरान प्रवेश गर्दा गृह मन्त्रालयको ई पास र जिल्ला प्रशासन कार्यालयले दिएको पासलाई मात्रै मान्यता दिने निर्णय भएको छ ।

यसै गरी धरानको लकडाउनलाई कडाइ गर्ने, अत्यावश्यक खाद्यान्न सामाग्री बोक्ने सवारी साधनलाई आवत जावत गर्न दिइने, धरान बाहिरका तरकारी, दूध आयत गर्न नपाइने, धरान भित्रकै तरकारी मात्रै किनबेच गर्न दिने लगायतको निर्णय भएको बैठकमा सहभागी भएपछि इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिएका छन् । उनले भने व्यक्तिले बोकेर ल्याएको दूध पुरै बन्द गरिने र सङ्कलन गरेर ल्याएको दूधलाई भने ल्याउन दिने निर्णय भएको छ ।

बैठकमा मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदी, प्रमुख प्रशासकीय अधिकृत विदुर खनाल सहित धरानका तीन सुरक्षा निकायका प्रमुखहरू ,इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डिराज न्यौपाने, सशस्त्र प्रहरी बेसक्याम्प धरान १३ का प्रमुख एवं डिएसपी राजेन्द्रकुमार श्रेष्ठ, इलाका प्रशासन कार्यालयका प्रमुख चन्द्रबहादुर कार्की, सैनिक आवासीय महाविद्यालय फुस्रेका शैलेन्द्र सिलवाल र श्रीकृष्ण दल गण फुस्रेका गणपति रञ्जित केसीको पनि सहभागिता रहेको थियो ।