धरान : उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के स्थित नुरी मस्जिदमा बसेका र उनीहरूको सम्पर्कमा आएका २४ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएपछि उदयपुर जिल्लाका विभिन्न स्थान सिल गरिएको छ ।

उदयपुर जिल्लाका सीमा नाकाहरूमा उच्च निगरानी बढाइएको छ भने उदयपुरको मुख्य क्षेत्र जहाँ एकै ठाउँका २४ जना मानिसमा कोरोना सङ्क्रमण भएको गाउँ भुल्के र चौदण्डीगढी नगरपालिकाको वडानं. ५ सिवाईमा रहेको मस्जिद आसपासको गाउँलाई सिल गरिएको उदयपुरका प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले जानकारी दिएका छन् ।प्रमुख जिल्ला अधिकारी पहाडीका अनुसार उदयपुर जिल्ला अति संवेदनशील जिल्ला भएकोले जिल्ला भरका आरडिटी परीक्षणका लागि २ हजार जना र पिसिआर परीक्षणका लागि २ सय ५० जनाको गर्नुपर्ने लगत सङ्कलन गरी सङ्घीय सरकारलाई पठाइसकिएकोले सिल गरिएका गाउँका थप मानिसहरूमा परीक्षण तुरुन्त गरिनेछ ।

उदयपुर जिल्लामा मात्रै देशकै धेरै कोरोना पोजेटिभ भएका मानिस भेटिएकाले उदयपुर जिल्लामा लकडाउनलाई कडाइ गरिने निर्णय भएको पनि प्रमुख जिल्ला अधिकारी पहाडीले बताए । उदयपुरमा काठमाडौँबाट पैदल हिँडेर आउनेले समस्या सिर्जना गरेको पनि उनले बताए । उदयपुर जिल्लामा रहेका ९ वटा मस्जिद, ७ वटा मदरसासँगै जिल्लामा रहेका चर्च, गुम्बा, मन्दिरहरूमा समेत प्रहरी परिचालन गरी निगरानी बढाइएको छ । लकडाउन भएकोले जिल्लालाई नै सिल गर्नुपर्ने अवस्था नदेखिएको बताउँदै प्रजिअ पहाडीले भने “उदयपुर प्रवेश गर्न र जिल्ला बाहिर जानमा कडाइ गरिएको छ ।”

उदयपुर जिल्लाको भुल्के स्थित नुरी मस्जिदमा बसेका ११ भारतीय र २ नेपालीमा गएको शुक्रवार र शनिवार कोरोना भएको पुष्टि भएको थियो भने हिजो मङ्गलवार थप ११ जनामा गरी कोरोना सङ्क्रमितको सङ्ख्या उदयपुरको एकै स्थानका मानिसमा २४ पुगेको छ ।मङ्गलवार भेटिएका सङ्क्रमितमध्ये तीन जना विदेशबाट फर्किएका युवक पनि रहेको बताइएको छ । एक जना दुबईबाट फागुन ११ मा आएको खुलेको छ भने दुई जना भारतको उत्तर प्रदेश र दिल्लीबाट आएको बताइएको छ । तर भुल्केमा देखिएको कोरोनाको स्रोत जमाती हुन् कि विदेशबाट फर्किएका युवक हुन् भन्ने प्रश्न उठेको छ ।