धरान : भोजपुरको हतुवागढी गाउँपालिकाको वडा नं. ६ का युवामा कोरोना भाइरस सङ्क्रमण देखिएकोले संक्रमण भेटिएको वडालाई सिल गर्ने निर्णय भएको छ ।

हतुवागढी गाउँपालिकाको र्‍यापिड रेस्पोन्स टिमको आकस्मिक बैठकले यस्तो निर्णय गरिएको हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिएका छन् । सङ्क्रमित युवाको अहिले ट्राभल हिस्ट्री बुझ्ने काम भइरहेको र साँझ सम्ममा विराटनगर स्थित कोरोना विशेष अस्पताल पठाउने तयारी भइरहेको पनि अध्यक्ष राईले बताए ।

साउदी अरबबाट आएका ती युवा धेरै ठाउँमा हिजो सम्म घुमिरहेको पाइएकोले उनका नजिकका सम्पर्कमा आएका २० जनाको तुरुन्त स्वाब लिने तयारी भएको छ ।

दोस्रो चरणमा उनीसँग सम्पर्कमा आएकाहरूको स्वाब परीक्षण गर्ने गरी १ नं. प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेसँग कुराकानी भएको बताउँदै अध्यक्ष राईले भने “स्वास्थ्य सामाग्री अभाव भएकोले प्रदेश सरकारसँग स्वास्थ्य सामाग्री र चिकित्सकको माग गरेका छौ ।” प्रदेश नं. १ का मुख्यमन्त्री सेरधन राईको निर्वाचन क्षेत्रमा कोरोना सङ्क्रमित युवा भेटिएकाले भोलि सम्ममा स्वास्थ्यकर्मी सहित स्वास्थ्य सामाग्री हेलिकोप्टरबाट पठाउने मुख्यमन्त्रीले आफूलाई आश्वासन दिएको अध्यक्ष राईले बताए ।

कोरोना सङ्क्रमण फैलिन नदिनका लागि आज देखि भोजपुरको हतुवागढी गाउँपालिकामा लकडाउनलाई कडा पार्ने पनि निर्णय भएको छ । एउटा वडाबाट अर्को वडामा आउजाउ गर्न नपाउने निर्णय पनि भएको छ ।