प्रकाशपुर : बराहक्षेत्र नगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकाको ठ्याक्कै सिमानामा अहिले तरकारी सडकमा छन् । बन्दाकोबी लौका लगायतका एक ट्रयाक्टर तरकारी अहिले त्यत्तिकै सडकमै फालिएको अवस्थामा छ ।

बराहक्षेत्र नगरपालिका १० स्थित प्रकाशपुरमा ३ बिघामा तरकारी खेती गरेका भोक्राहाका धनिलाल मेहताले लगाएको तरकारी सडकमै फालेका हुन् । उत्पादित तरकारी मागेको ठाउँमा लाग्दै गर्दा स्थानीयहरूले बाटै बाट फिर्ता गर्दिएकाले मेहताले बाटोमै तरकारी छोडिदिए ।

तरकारी लगाउन भनेर भोक्राहा ३ का मेहताले बैकबाट ५ लाख रुपैयाँ ऋण लिएको बताउँछन् । ऋण लिएर उब्जाएको तरकारी बेच्न नपाउँदा यति बेला धनिलाल सहित स्थानीय रूपमा खेती गर्ने करिब १५ जना स्थानीय किसानहरू बैकको व्याज तिर्ने तनावमा छन् ।

सरकारले गरेको ‘लकडाउन’का कारण भोक्राहाका किसानहरूलाई बल्लबल्ल उत्पादन गरेको तरकारी बेच्न नपाएपछि थप चिन्ता बढ्दै गएको हो । बारीमा भएको उत्पादित तरकारी बजारसम्म पुर्‍याउन नसक्दा किसानका टमाटर खेतमा मात्र हैन सडक मै कुहिन थालेका छ ।

Vegitables-2

'व्यापारीले मागेर हामीले लागेको हुन्छु, बाटोमा मान्छेहरू बसेको हुन्छ,वडाध्यक्ष सँग सोधेर मात्र लग्नु भन्छ' धनिलाल आफ्नै लवजमा भने 'हामीलाई त खेतबारी मात्र गर्न आउँछ, किसान मान्छे हजुर कहाँ बाट मेयर वडाध्यक्षलाई भन्न जानु, भने पनि हाम्रो कुरा कहाँ सुन्छ ।'

सामान्य अवस्थामा त्यही किसानले उत्पादन धान्दै आएको तरकारी बजार अहिले अप्ठ्यारो परिस्थितिमा कसैले समन्वय नगरिदिएको गुनासो मेहेता गर्छन् ।

मेहताले भने जस्तै कृषिजन्य स्रोत व्यवस्थापन गर्न स्थानीय तहहरूले कुनै पनि समन्वय गरेको छैनन् । कृषि उत्पादन वितरणलाई सहज बनाउन पश्चिम नेपालका केही नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गरिएका छन् ।

प्रदेश नम्बर ५ सरकारको बजेट र समन्वयमा कपिलवस्तुको विभिन्न स्थानीय तहहरूले कृषिजन्य उपज बिक्री वितरण र व्यवस्थापनको लागि एम्बुलेन्स सञ्चालन गरेका थिए ।

एम्बुलेन्स नै नसके पनि कृषि एम्बुलेन्सको रूपमा ट्रयाक्टर नै प्रयोग गर्न सकिने कृषि उद्यमी चूडामणि पौडेल बताउँछन् । भोक्राहा, प्रकाशपुर तरकारी बांगे हुँदै धरान सम्म पुग्ने गर्दथ्यो ।

'किन्ने मान्छेले किन्न नपाएको र बेच्ने मान्छेले बेच्न पाएका छैनन् ' पौडेल भन्छन् ' स्थानीय तह भएको आभास यति बेला जनतालाई दिलाउनु पर्छ । सामान्य स्थितिमा त बजार आफैले सबै काम गरिहाल्छ तर यति बेला स्थानीय तहहरूले यसको व्यवस्थापनमा जोड दिनु पर्दछ ।'

पौडेलले भने जस्तै धरान लगायतको क्षेत्रमा अहिले तरकारीको माग छ । तर कृषकको खेतमा रहेको तरकारी बेच्न मध्यस्थता गर्न राज्यका विभिन्न निकायहरूले एकले अर्को देखाउँदै पन्छिँदै आएको किसानको गुनासो छ ।

जनताहरूले आफै लकडाउनलाई प्रभावकारी बनाइरहेका छन् । नगरपालिकाले पनि कृषिजन्य उत्पादनको त्यति समन्वय गरेको अहिले सम्म थाहा छैन ।

बराहक्षेत्र नगरपालिकाका ९ का वडाध्यक्ष दीपक लिम्बुले भन्छन ' लकडाउनको समयमा दुई स्थानीय तहहरू बिच समन्वय भयो भने मात्र सहज हुन्छ नत्र स्थानीयहरूले नै जताबाट ल्याएको त्यतैतिर फर्काइ दिने गरेका छन् ।'