धरान :लकडाउनको फाइदा उठाउँदै तरकारीमा कालो बजारी गर्ने व्यापारीलाई धरान उपमहानगरपालिकाको बजार अनुगमन समितिले कारबाही गरेको छ ।

धरान-१६ भीमसेन पथमा किराना पसल सञ्चालन गर्दै आएका सन्तोष शाहले धरान उपमहानगरपालिकाको विना अनुमति र कृषि बजारले तोकेको मूल्य भन्दा तेब्बर बढी मूल्यमा तरकारीजन्य बस्तु खरिद विक्री गरिरहेको पाइएकोले उनलाई बजार अनुगमन टोलीले नियन्त्रणमा लिएको थियो ।

उनलाई नियन्त्रण लिइएपछि धरान उपमहानगरपालिकाको बजार अनुगमन समितिको बैठकले शाहाले पहिलो पटक गल्ती गरेको भन्दै नगद ५ हजार रुपैयाँ जरिवाना गर्ने गरी निर्णय गरेको छ । अनुगमन टोलीले आलु, प्याज, बन्द कोभी, सिमी गरी करिब २ सय किलो तरकारी पनि बरामद गरेको छ ।

उनले लकडाउनको बेलामा पसल सञ्चालन गर्न कुनै अनुमति नलिई पसल खोलेका थिए भने तरकारी पनि कृषि बजारको मूल्य भन्दा तेब्बर महँगोमा बिक्री गरिरहेको पाइएको धरान उपमहानगरपालिका बजार अनुगमन समितिका सहसंयोजक नेत्रप्रसाद काफ्लेले बताए ।

धरान उपमहानगरपालिकाको बजार अनुगमन समितिले लकडाउनको बेलामा कालोबजारी गर्नेलाई कालोबजारी ऐन अन्तर्गत कारबाही गर्ने निर्णय गरेको छ । यो घटना पहिलो भएकोले ५ हजार रुपैयाँ जरिवानामा शाहलाई छोडिएको हो । अव उप्रान्त धरान उपमहानगरमा यस्तो गतिविधि गर्नेलाई ऐन अनुसार कारबाही गर्ने समितिका संयोजक उपमेयर मञ्जु भण्डारी सुबेदीले बताइन् । व्यापारी सन्तोष शाहले पनि बैठकमा माफी माग्दै अव देखि तरकारी जन्य वस्तु खरिद बिक्री नगर्ने बताएका छन् ।

लकडाउनको बेलामा तरकारीजन्य बस्तुमा सर्बसाधरणमा सहजता होस भनेर धरान उपमहानगरपालिका र कृषि बजारले वडा-वडामा वडा कार्यालयहरूको समन्वयमा सुलभ मूल्यको तरकारीको खुद्रा डिपो सञ्चालन गर्ने अनुमति दिएकाहरूले मात्र तरकारी बेचबिखन गर्न पाउनेछन् ।

Nirnaya

अहिले सम्म धरान उपमहानगरपालिकामा करिब १ सय ६० सुलभ मूल्यको खुद्रा तरकारी डिपोको सिफारिस कृषि उपज बजार स्थलमा आएको कृषि उपज बजार स्थल धरानका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिएका छन् ।

धरानका अन्य व्यवसायी पेसा परिवर्तन गर्दै
लकडाउनको बेलामा धरानमा अरू पेसा गर्नेहरूले पेसा परिवर्तन गरी तरकारी बेचबिखन गर्न थालेको पाइएको छ ।

तरकारी बिक्रीबाट मनग्ये आम्दानी लकडाउनमा हुने भन्दै पेन्टर, कुक, लगायतका पेशाकर्मीले तरकारी बेचिरहेको पाइएको छ । उनीहरूले तरकारी बेचविखन गर्नका लागि कहीँ कतैबाट अनुमति तथा सिफारिस लिएको नपाईएको बताइएको छ ।