पथरी : मोरङको पथरीशनिश्चरे ५ का रमेश कविरथले लगाएको मकैमा दाना लागेको छैन । करिब ५ विगाह जग्गामा लगाएको मकैको घोगामा अझै दाना लाग्ने अत्तोपत्तो नभएकाले तनावमा छन् ।

मकै खेती गर्दा गरेको लगानी नउठ्ने भएपछि खेती गर्दा लिएको ऋण कसरी तिर्ने भन्ने चिन्ता थपिएको छ । मकै उत्पादन भएर बेच्ने वेलामा कविरथलाई अहिले मकैको घोगामा दाना नलागेर तनाव भएको हो । स्थानीय मोहन थापाको खेत ठेक्का लिएर मकै खेती गर्न थालेका कविरथलाई अहिले त्यो ठेक्काको रकम कसरी जुटाउने भन्ने चिन्ताले छोपेको छ ।

‘अहिले सम्मपनि मकैमा दाना लागेको छैन, बिउ मल देखि अन्यमा ३ लाख भन्दा बढी खर्च भइसकेको छ ’ कविरथले भने ‘ केहि दाना लागेका घोगामा पनि पातलो दाना छ ।’ मकैको बिउ राम्रो भनेर कविरथले सुनसरीको हरिनगरा गाँउपलिकाको भुटाहाको ब्रह्म कृषि केन्द्रबाट सो मकैको बिउ खरिद गरी ल्याएका थिए ।

मकैको बिउ राम्रो सँग उम्रिए पनि घोगा नलागेको र लागेकोमा पनि दाना पस्न सकेको छैन । कविरथले ३ प्रकारका मकै रोपेको भए पनि डेकल्व ९०८१ जातको मकैमा भने फल नलागेको हो ।

कविरथले पाइनर,नाथ सम्राट ११४४ र डेकल्व ९०८१ जातका मकैका बिउ रोपेका थिए । मकैको घोगा लागेपछि मकै भाँच्दा दाना बिनाको घोगा मात्र भेटिएको कविरथ बताउँछन् । 'विगाहको ३० मन धान दिने सर्तमा लिएको खेतको ठेक्का पनि तिर्न सक्ने अवस्था छैन' उनले भने ।

एक मन (४० केजी) मकै एक हजार देखि एक हजार २ सय सम्ममा बिक्री हुँदै आएको छ । मकैमा ठुलो लगानी गरे पनि मकैमा बिउकै कारण दाना नलागेको हुन सक्ने कृषि प्राविधिकहरू बताउँछन् ।