धरान : धरान उपमहानगरपालिकामा तरकारीजन्य बस्तुलाई जति नै व्यवस्थित बनाउन प्रयास गरे पनि बजारमा तरकारी विक्रिवितरण मनपरी पाइएको छ ।

धरान उपमहानगरपालिकाको वडानं. १३ मा रहेको कृषि उपज बजार स्थलमा आयत हुने तरकारीजन्य बस्तु धरान उपमहानगर भित्रका २० वटा वडामा मात्रै बेच विखन गर्न दिने निर्णय भएको छ । सम्बन्धित वडाको वडा कार्यालयले खुद्रा बिक्रीका लागि अनुमति दिएपछि मात्रै कृषि उपज बजार स्थलको मूल्य सुची अनुसार बेच विखन गर्ने निर्णय भएको छ । तर धरानमा अनुमति नदिइएका तरकारी व्यापारीहरूले आफूखुसी मूल्यमा तरकारी बेच विखन गर्ने गरेको पाइएको छ ।

केही दिन अघि धरान १६ का सन्तोष शाहले कृषि उपज बजार स्थलको मूल्य भन्दा तेब्बर महँगोले बन्द कोभी बेचेको भन्दै ५ हजार रुपैयाँ कारबाही गरिएको थियो । यसै गरी धरान १ का गोपाल राउतले तीनकुनेमा कृषि बजार लाने भनेर आफ्नै गोदाममा खरबुजा लगेपछि उनलाई पनि कारबाही गरिएको छ । यसै गरी एक जना तरकारी गाडी चालक रविन तामाङले तरकारी बेचबिखनका लागि अनुमति नै नलिएको पसललाई तरकारी झारी दिएको पाइए पछि उनलाई पनि २५ सय रुपैयाँ सहित कारबाही गरिएको छ । त्यो सँगै केही तरकारी गाडीका चालकहरूलाई चेतावनी दिइएको नगर स्तरीय साग सब्जी अनुगमन समितिका सहसंयोजक तथा १३ नम्बर वडाका वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले जानकारी दिएका छन् ।

उनका अनुसार आज बिहीबार एक जना कागती व्यापारीलाई कारबाही गरिएको छ । कृषि उपज बजार स्थलबाट ८ रुपैयाँ गोटामा बेच्नुपर्ने मूल्य लिएर थप २ रुपैयाँ बढाएर १० रुपैयाँ गोटा बेच्दै गरेको अवस्थामा उनलाई पनि आज कारबाही गरिएको छ । ५ सय बराबर को सामान जफत गरी सभागृह लगिएको छ भने उनलाई १ हजार रुपैयाँ कारबाही गरिएको छ ।

यी त भए उदाहरण, धरान बजारमा यस्ता थुप्रै गतिविधिहरू हुने गरेका छन् । सम्बन्धित वडा कार्यालयबाट सिफारिस नलिई तरकारी पसल सञ्चालन गर्नेहरू पनि थुप्रै रहेका छन् । आफूखुसी साग सब्जी र तरकारी जन्य वस्तु आयत गरेर बिक्री वितरण गर्नेहरू पनि थुप्रै रहेको समितिलाई जानकारी पुगेको छ । यस्ता तरकारी व्यापारीले कृषि उपज बजार स्थलको दर रेट भन्दा महँगोमा बिक्री गरिरहेको पाइएको छ ।

यसरी आफूखुसी मूल्यमा तरकारी जन्य वस्तु बेच विखन गर्दै गरेको पाइएमा तुरुन्त नगर स्तरीय साग सब्जी अनुगमन समितिलाई जानकारी दिन समितिले उपभोक्तालाई आग्रह समेत गरेको छ ।
जति नै धरानमा तरकारीलाई व्यवस्थित बनाउन खोज्दा पनि उपभोत्ताहरुको साथ सहयोग नपाएको कारण यस्ता व्यक्तिहरू सलबलाइरहेको अनुगमन समितिका सहसंयोजक नेत्रप्रसाद काफ्लेले बताए । पहिलो कुरा यस्तो बेलामा उपभोक्ता आफै सचेत र सजग हुनुपर्छ । बाहिर सबैले देख्ने गरी मुल्यसुची टासिएको छैन भने तुरुन्त जनप्रतिनिधि र प्रहरीलाई खबर गर्न सहसंयोजक काफ्लेले आग्रह गरे ।