धरान : धरान १४ विजयपुरमा रहेको बुढासुब्बा मन्दिरमा आज निशान निकालेर विशेष पूजा गरिएको छ ।

बुढासुब्बा मन्दिरमा वर्षमा २ पटक वडा दशैको नवमीमा र वैशाखे पूर्णिमाका दिन विशेष पूजा हुने गर्दछ । सोही अनुसार लकडाउनको बेलामा सधैँ भव्यरुपमा गरिने पूजा आज सामान्य तरिकाले सम्पन्न गरिएको बुढासुब्बा मन्दिर सम्भार एवं संरक्षक समितिका सचिव उत्तम आलेले बताएका छन् । आज बिहान मन्दिरका पुजारीहरूले मात्रै कुखुराको बलि दिएर विशेष पूजा सम्पन्न भएको छ ।

हरेक वर्ष बुढासुव्वामा रहेको टुप्पो बिनाको बाँसमा हतियार वैशाखे पूर्णिमाको अघिल्लो दिन मात्रै लगाउन हुने मान्यता अनुसार हिजो बुढासुव्वामा ढलेका, सुकेका बाँस काटिएको थियो । आज परापुर्वकाल देखि निरन्तर चल्दै आएको विशेष पूजा गरिएको सचिव आलेले बताए ।

वैशाखे पूर्णिमा र वडादशैको नवमीमा बुढासुब्बा मन्दिरमा दुई वटा निशान समेत निकालेर पूजा गर्ने चलन रहेको छ । अरू बेला पुजारीको घरको पूजा कोठामा राखिने विशेष प्रकारको निशानलाई मन्दिरमा लगेर पूजा गर्ने चलन पहिले देखिनै रहेको बताइएको छ ।

Budhasubba-ko-Nishan-1

पूर्वी पहाडी जिल्लाको लिम्वूवानमा रहेका निशानकै बनावट रहेको तर केही छोटो दुई वटा निशान बुढासुव्वामा रहेका छन् । ती निशान सँगै केही थान पुरानो खोडा, र तरवार पनि रहेको बुढासुब्बा मन्दिर सम्भार एवं संरक्षक समितिका सचिव उत्तम आलेले बताए ।

बुढासुब्बा मन्दिर विश्वकै अनौठो मन्दिरकोरुपमा मान्न सकिन्छ । टुप्पो नभएको बाँस बुढासुब्बा मन्दिरमा मात्रै पाइनु, मन्दिरमा मूर्ति नहुनु, रक्सी चढाइने र सुँगुरको बलि दिइने यो मात्रै यस्तो मन्दिर हो जुन अरू कहीँ कतै पाइँदैन । यसले गर्दा बुढासुब्बा मन्दिरका अरू पनि थुप्रै ऐतिहासिक महत्त्वहरू हुन सक्ने बुढासुब्बाको निशानले सङ्केत गरेको छ । बुढासुब्बाको निशान र बुढासुब्बा मन्दिर सँग जोखिएका ऐतिहाकि कुराहरूको खोजी हुन जरुरी रहेको पुरातात्त्विक विदहरुको भनाई छ ।