धरान : धरान उपमहानगरपालिकाको कृषि पकेट क्षेत्रको मकै बालीमा अमेरिकन फौजी किराको प्रकोप देखिएपछि शुक्रवार धरान उपमहानगरपालिकाले १ सय ९८ बिघा मकै बालीकालागि कीटनाशक औषधी कृषकलाई वितरण गरेको छ ।

धरान उपमहानगरपालिकाको वडा नं. ५ मा ३३ बिघाका लागि, वडा नं. ६ मा १ सय ५० बिघाका लागि, वडा नं. २० मा १५ बिघाकालागि गरी जम्मा १ सय ९८ बिघाको मकै खेतीलाई पुग्ने औषधी वितरण भएको धरान उपमहानगरपालिकाको कृषि शाखाका प्रमुख नगेन्द्र तामाङले जानकारी दिएका छन् ।

Fauji-Kira-3

धरान उपमहानगरपालिकाको वडा नं. २० गुरुङ छापमा सबै भन्दा बढी अमेरिकन फौजी किराको प्रकोप देखिए पछि धरान उपमहानगरपालिकाका उपमेयर मञ्जु भण्डारी सुबेदीको टोली कृषि विज्ञ सहित केही दिन अघि अनुगमन गर्न पुगेको थियो । यो सँगै धरानको ५,६,२०,४ र १७ नम्बर वडामा फौजी किराको प्रकोप मकै बालीमा देखिएको कृषकले गुनासो गरेका थिए ।

Fauji-Kira-2

शुक्रवार धरान उपमहानगरपालिकाका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुबेदीको टोलीले वडा नं. ५,६ र २० नम्बर वडामा पुगेर फौजी किरा नियन्त्रणका लागि प्रयोग हुने कीटनाशक औषधी किसानहरूलाई हस्तान्तरण गरिएको धरान उपमहानगरपालिकाका आर्थिक विकास समितिका कैलाश अग्रवालले बताए ।

धरानको कृषि पकेट क्षेत्र मानिएका वडाहरू ५ र ६ नम्बर मा यस भन्दा अघि धान बालीमा अमेरिकन फौजी किराले ठुलो क्षति पुर्‍याएको थियो । धान बाली पछि मकै बालीमा पनि यो किराको प्रकोप देखिएपछि कृषकले धरान उपमहानगरपालिकालाई जानकारी गराएका थिए । त्यही अनुसार धरान उपमहानगरपालिकाले फौजी किरा नियन्त्रणका लागि कीटनाशक औषधी वितरण गरेको हो ।

Fauji-Kira-1

फौजी किराले विषेशगरी 'ग्रामेनेसी' घाँसे बाली अन्तर्गतका ८० बालीमा क्षति पुर्‍याउने भएकोले यसले कृषि क्षेत्रमा ठुलो क्षति पुराउने कृषि विज्ञहरू बताउँछन् । विषेश गरेर धरान उपमहानगरपालिकामा अमेरिकन फौजी किरा सँगै नेपालको रैथाने फौजी किरा भेटिएको कृषि विज्ञहरूको अनुसन्धानले देखाएको धरान उपमहानगरपालिकाका कृषि शाखाका प्रमुख नगेन्द्र तामाङले बताए । प्रमुख तामाङका अनुसार धरान १७ मा भोलि ५ बिघा क्षेत्रलाई पुग्ने कीटनाशक औषधी वितरण गरिने छ । ४ नम्बर वडामा पनि फौजी किराको प्रकोप देखिएको बताइए पनि धरान उपमहानगरपालिकालाई कुनै किसिमको जानकारी नआएको बताइएको छ ।