झापा : लकडाउन सुरु भएकै दिन झापाको कमल गाउँपालिकामा मागिखान हिडने अन्दाजी ६५ वर्षको पुरुषको दुर्घटनामा ज्यान गयो । मे १० प ७२३० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनको उपचारको क्रममा मृत्यु भएको भयो ।

सोही दिन नै मोरङको बेलवारी नगरपालिका-१० स्थित लोकमार्गमा अर्को दुर्घटना भयो । नाम थर नखुलेका अन्दाजी वर्ष ४५ को पुरुष मानिसको सडक दुर्घटनामा मृत्यु भयो । तर सवारी साधनको पहिचान भने खुलेन ।
सरकारले लकडाउन घोषणा गरेर बाहिरी आवतजावतमा रोक लगाए पनि सवारी दुर्घटना भने भइरहेको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणको लागि गरेको लकडाउनको समयमा प्रदेश एकमा मात्र १५ जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा स्वास्थ्यकर्मीहरु पनी छन् । सुनसरीको इनरुवाको मधेशा स्वास्थ्य चौकीमा कार्यरत नर्स रत्ना श्रेष्ठको समेत लकडाउनको अवधिमै सडक दुर्घटनामा ज्यान गएको थियो । इनरुवा-६ स्थित पूर्वपश्चिम लोकमार्गमा स्कुटर चलाएर कार्यालय जाने क्रममा एम्बुलेन्सले ठक्कर दिएर ३५ वर्षीय श्रेष्ठको मृत्यु भएको थियो ।

लकडाउनकै समयमा सवारी दुर्घटनामा परि ज्यान गुमाउनेको सङ्ख्या सुनसरीमा अधिक रहेको पाइएको छ । सुनसरीमा जिल्लामा मात्र लकडाउनको अवधिमा सवारी दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या ५ रहेको छ ।

यस्तै झापामा ४, मोरङमा ३, ताप्लेजुङमा २ र ओखलढुङ्गामा १ जनाले सवारी दुर्घटनामा परि ज्यान गुमाएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता डिएसपी लक्ष्मी अधिकारीले जानकारी दिए ।

ट्राफिक प्रहरीका अनुसार दुर्घटनाको विवरण

ओखलढुङ्गाको मानेभञ्जाङ गाउँपालिका ५ केरुङ स्थित सिद्धिचरण लोकमार्गमा ३ जना सवार बा ६३ प ९३५५ नं. को मोटरसाइकल ना ६ त ६३६० नं. को ट्रयाक्टरमा ठोक्किँदा सोही ठाउँ बस्ने वर्ष २५ कि पवित्रा राईको उपचारको क्रममा मृत्यु भएको थियो ।

चैत १५ गते सुनसरीको इनरुवा नगरपालिका-७ स्थित पूर्व पश्चिम लोकमार्गमा मे ९ प १८७२ नं को मोटरसाइकलले साइकल यात्री सोही नगरपालिकाको वडा नम्बर ६ का ५० वर्षीय रघुवीर कटुवाललाई ठक्कर दिँदा उनको उपचारको क्रममा मृत्यु भएको थियो ।

चैत २० गते झापाको कमल गाउँपालिका-४ स्थित लोकमार्गमा पहिचान नखुलेको सवारी साधनको ठक्करबाट सिराहा सुखिपुर नगरपालिका १ बस्ने ४५ वर्षका पानो मण्डलको मृत्यु भएको थियो ।

चैत २१ गते सुनसरीको बराह नगरपालिका-२ स्थित भित्री सडक खण्डमा को २ त १८३६ नं. को खाली ट्रयाक्टर अनियन्त्रित भई सडक बाट ३५ फिट तल झरी दुर्घटना हुँदा सहचालक सोही नगरपालिकाको वडा नम्बर २ बस्ने ३२ वर्षका हरि थापाको घटनास्थलमा नै मृत्यु भएको थियो ।

चैत २३ गते ताप्लेजुङको फक्तालुङ गाउँपालिका ६ खेतिखोला स्थित दोभान–ओलाङचुङगोला निर्माणाधीन सडक खण्डमा एक्स्काभेटर सुख्खा पहिरोमा परी सडक सँगै १०० मिटर तल तमोर नदीमा खस्दा सोही एक्स्काभेटर चालक चितवन सौराहा बस्ने वर्ष २७ को चित्र कुमार गुरुङको घटनास्थलमै मृत्यु भएको थियो ।

वैशाख १४ गते सुनसरीको धरान उपमहानगरपालिका १८ दुर्गा चोकमा को ३४ प १०३९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक धरान उपमहानगरपालिका १६ बस्ने वर्ष २४ को विशाल तामाङ गम्भीर घाइते भई उपचारको लागी धरान घोपा पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो ।

वैशाख १५ गते ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका २ मा प्र. १–०१–००१ त ८२४८ नं. को ट्रयाक्टर अनियन्त्रित भई सडक बाट १०० मिटर तल झरी दुर्घटना हुँदा चालक पाँचथर हिलियाङ ५ बस्ने वर्ष २२ को निर्मल लामिछानेको घटनास्थलमा नै मृत्यु भएको थियो ।

वैशाख १७ गते मोरङको बेलबारी ८ स्थित भित्री सडक खण्डमा को २८ प ७४५४ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई रुखमा ठोक्किँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने वर्ष २१ को सौजन कार्की र सोही मोटरसाइकल पछाडि सवार सोही ठाउँ बस्ने वर्ष २२ को साने तामाङ घाइते भई उपचारको लागी नोबेल अस्पताल बिराटनगर पठाइएकोमा मोटरसाइकल चालक सौजन कार्कीको उपचारको क्रममा मृत्यु भएको थियो ।

वैशाख २५ गते मोरङको कानेपोखरी गाउँपालिका ७ स्थित लोकमार्गमा को २५ प ३८८९ नंम्बरको मोटरसाइकलले पैदल यात्री मोरङको कानेपोखरी गाउँपालिका ८ बस्ने वर्ष ४५ की शान्ता राजवंशीलाई ठक्कर दिँदा गम्भीर घाइते भएको र उनको उपचारको क्रममा पथरी हस्पिटल पथरीमा मृत्यु भएको थियो ।

वैशाख २६ गते झापाको कमल गाउँपालिका ५ स्थित लोकमार्गमा बा ८६ प ९७७० नम्बरको मोटरसाइकल र ना ६ ख ५४०१ न. को ट्रक आपसमा ठोक्किँदा मोटरसाइकल चालक इलाम चुलाचुली गाउपािलका ४ बस्ने ३१ वर्षको रण बहादुर लिम्बुको ज्यान गएको थियो ।

वैशाख ३१ गते झापाको दमक ५ स्थित भित्री सडक खण्डमा को १ ख ५५२४ नम्बरको ट्रिपरले साइकल यात्री दमक नगरपालिका १ बस्ने वर्ष १६ को शोभित दर्जीलाई ठक्कर दिँदा निजको घटनास्थलमै मृत्यु भएको थियो ।