एन्ने लाउडरको एउटा भनाई "हरेक अभिभावकले आफ्नो बच्चाको लागि के के गरिन भन्दा पनि के के गर्न सिकाए जसको माध्यमबाट जीवनमा आफूलाई सफल मानव व्यक्तित्व साबित गर्न सके भन्ने कुरामा गर्व गर्ने संस्कारको विकाश गरौँ " भन्ने उद्गारबाट यो लेख प्रारम्भ गर्दैछु ।

सबैलाई थाहा छ । यो युग सूचना र प्रविधिको हो । यी युगका सुन्दर उपहार हुन् इन्टरनेट वा बाइफाई सेवा आदी इत्यादि । यस्तै पिसी र पिसीमा कन्सोल जस्तै ल्यापटपहरू, नोटवुकहरु, टयाब्लेटहरु, हयान्डहेल्ड प्रणालीहरू,आइप्याडहरु र स्मार्टफोनहरू आदि इत्यादि पर्दछ । अब त बालबालिकाहरूका उपनाम समेत डिजिटल राख्दा फरक पर्दैन । जो भोलिका देशका कर्णधार समेत हुन ।

आज सर्वत्र अभिभावकको टाउको दुखाई नै आफ्ना बालबालिकालाई कसरी भिडियो गेमबाट छुटकारा दिने हो । असामान्य बालबालिका बाहेक एकानब्बे प्रतिशत बालबालिका अधिकांश समय मोबाइल, आइ प्याड र ल्यापटपमा चुर्लुम्म डुबेको पाइन्छ । स्वाभाविक रूपमा आधुनिकताले आविष्कार गरेको कुनै पनि प्रकारका प्रविधिसँग साक्षात्कार गर्नु आवश्यक छ । यो प्रविधि उत्पादन गर्ने कम्पनीले समेत आजका बालबालिकालाई नै लक्षित गरेर बजारमा ल्याएको हो । तर हरेक प्रविधिको फाइदा र बेफाइदा हुन्छ । जसलाई सही ढङ्गले सदुपयोग गर्दा मात्र सकारात्मक प्रभाव राख्दछ ।

सृष्टिकर्ता ब्रह्माले समेत राम्रा र नराम्राको मिश्रणबाट सब थोक सृष्टि गरिसके पछि राम्रैराम्राको सम्मिश्रणबाट सृष्टि गर्दा खाडी मुलुकमा पाइने उँटको सृष्टि भएको भन्ने कहानी छ । जुनसुकै प्रविधिलाई पनि अनुशासित भई सदुपयोग गर्नु उत्तम हुनेछ । जे चिज पनि अधिकतम प्रयोगले नकारात्मक हानी मात्र गर्दछ ।

हरेक खेलको नियम भए झैँ हरेक प्रविधिको सही सदुपयोग गर्ने एउटा सीमा हुन्छ । अनुशासन हुन्छ । त्यहाँ अनुसरण हुन्छ । तर हाम्रा अधिकांश बालबालिकाहरू निश्चित सीमा र अनुशासनमा रहेर भिडियो गेम खेलाउन अभिभावक सफल भएका छैन । यो ज्वलन्त समस्याले अपवाद बाहेक सबैलाई सताएको हुनुपर्दछ । यस्ता प्रविधिको सही सदुपयोग गर्नाले फाइदा छ । एक अध्ययनले आठ वर्षदेखि बाह्र वर्ष सम्मका बालबालिकालाई हप्तामा तेह्र घण्टा सम्म भिडियो गेम खेल्न आदत बसेका नानीलाई आँखा र हात बिचको समन्वयात्मक सन्तुलन राम्रो विकास भएको पाइन्छ ।

बच्चाहरूको मांसपेशीको राम्रो विकास गर्न टेवा पुर्याउछ । विद्यालयमा समेत यस्ता बालबालिकाको उत्कृष्ट प्रदर्शन गर्ने पाइन्छ । तर भिडियो गेमको अधिकतम प्रयोगले बच्चाहरूको स्वास्थ्यमा समेत नकारात्मक असर पुर्याएको पाइन्छ । सक्रिय रूपमा खेल्नु पर्ने खेलहरूमा सहभागी हुन इन्कार गर्ने गर्दछ । शारीरिक अभ्यासहरू गर्न अल्छी लाग्ने बानीको विकाश भएको हुन्छ ।

यसरी नै धेरै भिडियो गेम खेल्ने बच्चाहरूलाई टाउको दुख्ने गर्दछ । बिस्तारै अस्पष्ट देख्न सुरु गर्दछ । छोटो दुरीको दृश्यमा समस्या आउने गर्दछ । यस्ता बच्चाहरूलाई बाहिरी समाजसँग समेत कम मात्र घुलमिल गर्ने आदत बानीको निर्माण गर्दछ । सामाजिक गतिविधिहरूमा अरुचि राख्ने गर्दछ । व्यक्तिगत रूपमा जिम्मेवारीहीन बन्दै जानेछ ।

आफ्नो स्वास्थ्यको कम मात्र ख्याल राख्दछ । चाहिने भन्दा कम अन्तर्क्रिया गर्ने बानीको विकाश हुने गर्दछ । प्राकृतिक सौन्दर्ययतामा कम लगाव हुने गर्दछ । म्यानुअल वर्कहरुमा समेत उत्कृष्ट प्रदर्शन गर्न असफल हुन्छन् । म्यानुअल भन्दा भिज्युल वर्कमा रमाउने बानीको विकास भएको पाइन्छ ।

यस प्रकारका बच्चामा अर्ग्यानिक खाना भन्दा जङ्क फुडमा धेरै रमाउने पाइन्छ । जसले अप्राकृतिक रूपले मोटाउने गर्दछ । हरियो सागपातमा अरुचि राख्ने पाइन्छ । शारीरिक रूपले सक्रिय हुनु पर्ने कुनै पनि काममा संलग्न हुन कम रुचि राख्ने गर्दछ । भिडियो गेम बाहेक अन्य दैनिकी कार्यहरूमा कम तदारुकता देखाउने पाइन्छ । यस्ता एडिक्सन बानीबाट मुक्ति हुनका लागि केही उपायहरू अपनाएर कम गर्न सकिन्छ ।

कडा नियम बनाएर मात्र गेम खेल्न दिनु पर्दछ । गृहकार्य सकेर मात्र गेम खेल्ने सर्त राख्नु पर्दछ । त्यो पनि अनिवार्य अभिभावकबाट अनुमति लिएर दिनमा दुईदेखि तीन घण्टा सम्म मात्र खेल्ने नियमको कडा पालना गराउनु पर्दछ । कुनै एउटा आफ्नो कार्य सकेर मात्र गेम खेल्न पाउने जरुरी आवश्यक छ ।

यस्ता बच्चाहरूलाई धेरै व्यस्त राख्न सक्नु पर्नेछ । उसको हरेक दैनिकीलाई ख्याल राखेर समय तालिका बनाई व्यस्त राख्नु सक्नु पर्दछ । अन्य मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय रूपमा संलग्न गराउनु पर्दछ । विभिन्न खेलहरूको प्रशिक्षणमा सहभागी हुनलाई प्रेरित गर्नुपर्दछ । सधैँ भिडियो गेम खेल्ने सोचलाई अन्यत्र क्षेत्रमा मोड्न सक्नु पर्दछ । जसरी हुन्छ उसलाई हरेक दृष्टिकोणबाट व्यस्त राख्न सक्नु उत्तम उपाय हुन्छ ।

अतिरिक्त खेल एवं मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय रूपमा राख्नु पर्नेछ । बालबालिकाहरूका असल र खराब व्यवहारहरू उनीहरूलाई दिने पुरस्कारले समेत निर्धारण गर्दछ । कहिलेकाहीँ अभिभावकहरूले आकस्मिक रूपमा दिने पुरस्कारले बालबालिकाको खराब बानीलाई प्रोत्साहित गर्ने गर्दछ । बालबालिकाको खराब बानीलाई प्रोत्साहित गरिन्छ भने त्यस्ता बानीहरू झन् झन् बढ्दै बढ्दै जाने हुन्छ । त्यस्ता बानी व्यवहार जसलाई प्रोत्साहितता वा दण्डित गरिन्छ । जसका कारण कमजोर हुँदै जान्छ र भविष्यमा गएर हराउँदै जान्छ ।

यी माथिका उपायहरू अभिभावकले अवलम्बन गरेमा बच्चाहरूलाई केही हदसम्म भिडियो गेम खेलिरहने बानीबाट उन्मुक्ति दिन सकिन्छ की भन्ने मेरो निष्कर्ष हो ।