धरान : धनकुटाकी कोरोना सङ्क्रमित स्वास्थ्यकर्मीले रेफर गरेको बिरामी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसूति विभागमा उपचारमा आएको भन्दै प्रतिष्ठानको प्रसूति विभाग सिल गरिएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रसूति विभाग प्रमुख डा. मोहनचन्द्र रेग्मीले दिएको जानकारी अनुसार अहिले प्रसूति विभागमा भर्ना भएका बिरामीलाई तत्काललाई डिस्चार्ज र भर्ना गर्न बन्द गरिएको छ । धनकुटा अस्पतालबाट रेफर गरिएकी बिरामी गएको शुक्रवार देखि प्रतिष्ठानको गाईनो वार्डमा उपचाररत थिइन् ।

उनको अप्रेसन गरिएको र घाउमा सङ्क्रमण भएपछि प्रतिष्ठानमा भर्ना गरिएको थियो । धनकुटाकी सङ्क्रमित स्वास्थ्यकर्मीलाई उनैबाट कोरोना सङ्क्रमण भएका हुन सक्ने धनकुटा अस्पतालले आशङ्का गरेपछि प्रतिष्ठानको प्रसूति वार्ड सिल गरिएको हो ।

Prasuti-1

उनको अहिले पनि ज्वरो आइरहेकोले आशङ्का गरिएका बिरामीलाई प्रतिष्ठानको आइसोलेसनमा भर्ना गरिएको डा. रेग्मीले जानकारी दिएका छन् । यसै गरी अर्को बिरामी पनि धनकुटाकै सङ्क्रमितले रेफर गरेकोले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसुती विभागमा कोरोनाको उच्च जोखिम भएकोले सिल गरिएको हो । आशङ्का गरिएका बिरामीको थ्रोट स्वाब लिई सकिएको र रिपोर्ट आएपछि थप निर्णय गरिने डा. रेग्मीले कपुरी न्युजलाई जानकारी दिए ।