इटहरी : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकारकालागि सुरक्षा र स्वास्थ्य सामाग्री उपलब्ध हुनुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियनको २९ औँ स्थापना दिवसको अवसर पारेर देउवाले वर्तमान केपी ओली नेतृत्वको सरकारले पत्रकारहरूकालागि स्वास्थ्य तथा सुरक्षा सामाग्री उपलब्ध गराउन नसकेको जिकिर गर्दै पत्रकारहरूलाई स्वास्थ्य सामाग्री उपलब्ध गराउनुपर्नेमा जोड दिएका हुन् ।

साथै सोही कार्यक्रमको अवसर पारेर देउवाले प्रेस युनियन सुनसरीले निर्माण गरेको डिजिटल पात्रो समेत उद्घाटन गरे । प्रेस युनियन सुनसरीले निर्माण गरेको डिजिटल पात्रो ‘युनियन पात्रो’ को शुभारम्भ गरेका हुन् ।
पात्रोको उद्घाटन गर्दै देउवाले भने, ‘सुनसरीका साथीहरूलाई बधाई दिन चाहन्छु, अहिलेको प्रविधिको युगमा डिजिटल पात्रो निर्माण हुनु सराहनीय छ ।’

अहिले विश्वव्यापी रूपमा फैलिरहेको कोरोना कहरका कारण सञ्चार क्षेत्र र त्यसमा कार्यरत पत्रकारहरू सङ्कटमा परेको बताउँदै उनले भने, ‘मैले कोरोनाको महामारीको सुरुदेखि नै पत्रकारको हकमा बोल्दै आएको छु, मैले पत्रकारहरूका लागि सुरक्षा, स्वास्थ्य सामाग्री व्यवस्था होस् भनेर आवाज उठाउँदै आएको छु ।’ उनले सरकारले अहिले पत्रकारको हकहितका लागि काम गर्न नसकिरहेको तर्क गरे ।

नेपाल प्रेस युनियनको २९ औँ स्थापना दिवस मनाउन मङ्गलवार जुम एपमा आयोजना गरिएको भर्चुअल कार्यक्रममा देउवाले पत्रकारहरू समेत कोरोनाबाट संक्रमति हुन थालेकाले सजगता अपनाउन अपिल गरे ।
कार्यक्रममा युनियनका केन्द्रीय सभापति बद्री सिग्देलले युनियनले प्रेस स्वतन्त्रताको पक्षमा काम गर्दै आएको बताउँदै श्रमजीवी पत्रकारको हकहितमा काम गर्दै जाने बताए ।

कार्यक्रममा युनियन सुनसरी अध्यक्ष पवन अधिकारीले लकडाउनको समयमा प्रेस युनियन जिल्ला कार्यसमितिले यहाँका क्रियाशील २२० जना पत्रकारहरूको कोरोना बिमा गरेको बताउँदै निःशुल्क रूपमा स्वास्थ्य सामाग्री पनि वितरण गरेको उदृत गरे । उनले भने, ‘बिषम् परिस्थितिमा मैले नेतृत्व सम्हाले पनि पत्रकारको हकहितका लागि काम गर्दै आएको छु, हामीले अहिले डिजिटल क्यालेन्डर पनि तयार गरेका छौँ ।’ उनका अनुसार युनियनको पात्रो प्ले स्टोरमा गएर सर्च गरेर डाउनलोड गर्न सकिनेछ ।

पात्रोमा दैनिक राशिफल, न्युज अपडेट गरिने र सबै जिल्लाका नेतृत्व तहमा बसेकाहरूको नामावली र नम्बर पनि उपलब्ध भएको उनले बताए ।

कार्यक्रममा काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, नेविसंघका सभापति राजीव ढुङ्गाना, पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्य, ट्रेड युनियन काँग्रेसका अध्यक्ष पुष्कर आचार्य, प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, महासचिव अजय बाबु सिवाकोटी, पूर्व अध्यक्ष तथा पूर्व सूचना आयुक्त किरण पोखरेल, युनियन युरोप शाखाका अध्यक्ष विपिन निरौला लगायतले बोलेका थिए ।

उनीहरूले प्रेस युनियन सुनसरीले डिजिटल पात्रोको शुभारम्भ गरेर सराहनीय काम गरेको बताएका थिए ।
कार्यक्रममा विभिन्न शाखाका २ सय ५० भन्दा बढी सक्रिय सञ्चारकर्मीको सहभागिता रहेको थियो ।