धरान : उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ भुल्के गाउँमा ४० दिन देखि गरिएको सिल बुधवार देखि खुलेको छ ।

उदयपुरको त्रियुगा नगरपालिकाको वडा नं. ३ भुल्के गाउँमा रहेको नुरी मस्जिदमा रहेका मुस्लिम धर्मगुरु जमातीहरुमा कोरोना सङ्क्रमण देखिएपछि वैशाख ५ गते देखि भुल्के गाउँ सिल गरिएको थियो ।

भुल्केका मात्रै ३२ जना र एक जना भुल्के बाहिर बस्ने त्रियुगा नगरपालिका गरी जम्मा ३३ जनामा कोरोना सङ्क्रमण देखिएपछि ४० दिन देखि लगातार भुल्के गाउँलाई सिल गरिएको थियो ।

यसरी गाउँलाई कोरोना सङ्क्रमण अरूमा नहोस् भनेर सिल गरिएपछि निकै कष्टकर जनजीवन भएको थियो । तर अहिले पछिल्लो भुल्केका मोतिगढा स्थित क्वारेनटाइनमा बसेका ९३ जनाको थ्रोट स्वाब परीक्षणको नतिजा कोरोना सङ्क्रमण नभएको रिपोर्ट आएपछि भुल्केको सिल खोलिएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुबेदीले जानकारी दिएका छन् ।

उदयपुरको भुल्केका ३२ जना कोरोना सङ्क्रमित मध्ये १२ जना उदयपुर बाहिरका थिए । अहिले उनीहरू मध्ये २७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किसकेका छन् । उनीहरू सबैको उपचार कोसी अस्पताल विराटनगरको कोभिड अस्पतालमा भइरहेको थियो । अहिले पनि सो अस्पतालमा ६ जना उपचारमै रहेको प्रमुख सुबेदीले बताए ।

सिल खोलिए पनि जोखिम उस्तै
उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के गाउँमा ४० दिन देखि सिल गरिएकोमा बुधवार देखि खुल्ला गरिएको छ ।

सिल खुल्ला गरिएपछि जनजीवन सहज बनाउन सामाजिक दुरी कायम अनिवार्य गर्नुपर्ने र भिडभाड गर्न नहुने भनिएको छ । तर यी सब कुरालाई स्थानीयवासीले कार्यान्वयन नगर्दा अझ जोखिम बढेको महसुस आफूले गरेको भुल्केका संचारकर्मी यदु ढकालले बताए ।

अस्पतालबाट निको भएर घर फर्किएका र स्थानीय सबैले सामाजिक दुरी कायम गर्नुपर्ने र भिडभाड नगर्नका लागि आग्रह गरिए पनि बुधवार सिल खुलेको पहिलो दिन नै झन् जोखिम देखिएको ढकालले बताए ।