झापा : सरकारले गत चैत ११ गतेबाट गरेको लकडाउनको उल्लङ्घन गर्दै सहरमा भिडभाड बढेको भन्दै अघोषित कर्फ्यु रहेको बिर्तामोड नगरपालिका क्षेत्रमा भोलि (बिहीबार) देखि सङ्घीय सरकारको निर्णयअनुसार हुने भएको छ ।

मङ्गलवार नगरपालिकामा भएको छलफलको निष्कर्ष र (आज) बुधवार उद्योगी व्यवसायीको आग्रह पछि नगरपालिकाले आफ्नो निर्णयमा पुनः विचार गरेको हो । नगरपालिकाले गरेको सिल खुल्ला गर्ने निर्णय भएको जनाइएको छ ।

जसअनुसार भोलि जेठ १५ गते गणतन्त्र दिवसको दिनदेखि पालो मिलाएर अत्यावश्यक वस्तु तथा सेवा सञ्चालन गरिने भएको छ । बिर्तामोड नगरपालिका कोरोना संक्रमण रोकथाम तथा राहत व्यवस्थापन समितिको आजको बैठकको निर्णयअनुसार खाद्यान्न पसलहरू र निर्माणजन्य तथा अत्यावश्यक सामाग्रीका पसलहरू जोर–बिजोर बार पारेर बिहान ७ बजेदेखि १० बजे सम्म खोल्न पाउने भएको छ ।

यस्तै बैङ्क तथा वित्तीय संस्थाहरू १० बजेदेखि १ बजेसम्म खोल्ने निर्णय भएको छ जसको लागि बैंकर सङ्घको समय तालिका पालना गरिने छ । सामान लोड अनलोड बेलुका मात्र गर्ने निर्णय भएको जनाइएको छ।

झापामा समेत कोरोना संक्रमितको सङ्ख्या बढ्दै गइरहेका बेला लकडाउन उल्लङ्घन बढे पनि नगर क्षेत्रमा संक्रमण भित्रिन नदिन नगरपालिकाले सबै सीमा नाका बन्द गरेर नगर सिल गर्ने निर्णय गरेको थियो ।

नगरपालिकाकी उपप्रमुख पवित्रा महतरा (प्रसाई)द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– सरकारले गरेको लकडाउनलाई पूर्ण रूपमा पालना गरेर संक्रमण रोकथाममा सबैको सहयोगको अपेक्षा गरेका छौँ ।