इटहरी : अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ का लागी सङ्घीय संसद्मा १४ खर्व ७४ अर्व ६४ करोडको बजेट बजेट प्रस्तुत गरेका छन् । बजेटमा प्रदेश १ का केही आयोजनाहरू प्राथमिकतामा परेका छन् ।

रेलवे सेवा सञ्चालन गर्न पूर्व पश्चिम विद्युतीय रेलमार्ग सञ्चालनको लागी सम्भाव्यता अध्ययन सम्पन्न गरी काँकडभिट्टा इनरुवा खण्डको निमार्ण आरम्भ गर्ने योजना प्राथमिकतामा परेको छ ।

दक्षिणी सीमाबाट पूर्वपश्चिम विद्युतीय रेलमार्गको इटहरी, निजगढ, बुटवल र कोहलपुर जोड्ने रेलवे लाइनको निमार्ण गर्ने बजेटमा उल्लेख भएको छ ।

त्यस्तै आन्तरिक जल यातायात पूर्वाधार विकास गर्न कोसीको चतरा देखी तुम्लीङटार सम्म जल यातायातको सम्भाव्यता अध्ययन गर्ने र सोही अध्ययनको आधारमा जल यातायात विकास गरिने भएको हो । विराटनगर र चन्द्रगढी विमानस्थलको स्तरोन्नति गरी तेह्रथुमको चुहानडाँडामा आन्तरिक विमानस्थल निमार्ण गरिने भएको छ ।
कोरोना महामारीको कारण स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको बजेटमा कोसी अस्पताललाई विशेषज्ञ अस्पतालको रूपमा विकास गरिने भएको छ । ७ वटै प्रदेशमा विशेषज्ञ अस्पतालकोलागी स्वास्थ्य पूर्वाधार विकास अन्तरगत १२ अर्व ४६ करोड बजेट विनियोजन भएका छ ।

जनताको तटबन्ध कार्यक्रम अन्तरगत कोसी नदी नियन्त्रण र सिमाना बाढी नियन्त्रण गरिने भएका छ । रतुवा, मावा खोला, बक्राहा र त्रियुगा नदी तटबन्ध गरिने भएको छ । कोसी जलाधार क्षेत्रमा एकीकृत भुसंरक्षण नीति लागु गरिने बजेटमा उल्लेख गरिएको छ ।

खानी तर्फ उदयपुरको कम्पुघाटमा म्याग्नेसाईटको विस्तृत अध्ययन तथा अन्वेषण गर्ने बजेटमा समेटिएको छ । सङ्खुवासभाको किमाथान्का र ताप्लेजुङको ओलाङचुङ्गगोलामा व्यापार पूर्वाधार विकास कार्य अगाडी बढाइने भएको छ । योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना गर्ने , विराटक्षेत्र र बराहक्षेत्रको धार्मिक विकासको लागी आवश्यक रकम विनियोजन गरिएको बजेट प्रस्तुत भएको छ । धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण देवघाट चतरा रामायण सर्किट अन्तरगत निर्माणाधीन सडकलाई थप प्रभावकारी बनाइने भएको छ ।

खानेपानी र बिद्युत तर्फ पनि प्रदेश १ प्राथमिकतामा परेको छ । कोसी नदीमा आधारित थोक पानी वितरण प्रणालीलाई जलाशय युक्त खानेपानी आयोजनाको सम्भाव्यता अध्ययन गरिने भएको छ । माथिल्लो अरुण र किमाथान्का अरुण जलविद्युत आयोजनाको ढाँचा यकिन गरी कार्यान्वयन गरिने उल्लेख गरिएको छ ।

बहुउद्देश्यीय तमोर जलविद्युत आयोजना सार्वजनिक निजी साझेदारी विस्तृत अध्ययन र डिजाइनको काम सम्पन्न गरिने भएको छ । झापाको अनारमनि देखी कन्चनपुरको महेन्द्रनगर सम्म ४०० केभी क्षमताको बहुउद्देश्यीय प्रसारण लाइन निमार्ण अगाडी बढाइने बजेटमा उल्लेख गरिएको छ ।

प्रदेश १ मा दुई वर्ष भित्र आधुनिक ऊर्जाको पहुँच पुर्‍याइने भएको छ । उत्तर दक्षिण सीमा जोड्ने सडकको रणनीतिक महत्त्वलाई दृष्टिगत गरी क्रमशः डेडीकेटेड डबल लेनमा निमार्ण स्तरोन्नति गरी मेची तमोर र कोसी करीडोर निमार्ण तथा स्तरोन्नतिलाई बढवा दिइने भएको छ ।