धरान : नेपाल प्रेस युनियन सुनसरीले सुनसरी जिल्लाका २ सय ६० जना सञ्चारकर्मीको कोरोना बिमा गरेको छ ।
प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीका अनुसार युनियन कार्यसमितिले सुनसरी जिल्लाका २६० जना सञ्चारकर्मीको कोरोना बिमा गरेको हो ।

‘हामीले जिल्लामा सक्रिय रहेका २६० जना सञ्चारकर्मीहरुको कोरोना बिमा गरेका हौँ,’ अधिकारीले भने, ‘अहिले दिनानुदिन कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको र पत्रकार पनि असुरक्षित रहेकाले हामीले कोरोना बिमा गरेका हौँ ।’ उनका अनुसार फ्रन्टलाइनमा रहेर सक्रिय काम गर्दै आएका सञ्चारकर्मीहरुमा पनि कोरोना देखिएपछि बिमा कार्यक्रम अगाडि ल्याइएको उनले बताए ।

उनका अनुसार १५० जना सञ्चारकर्मीको आइएमी जनरल इन्स्युरेन्सले बिमा गरेको र बाँकी ११० जना सञ्चारकर्मीको युनियन कार्यसमितिले बिमा गरिदिएको छ । कोरोना बिमा व्यवस्थापन समितिका संयोजक कृष्ण अधिकारीले युनियनले सुनसरी जिल्लाका सञ्चारकर्मीको कोरोना बिमा गर्नु सकारात्मक रहेको बताए ।
कोरोना बिमा व्यवस्थापन समितिका सदस्यहरू निशान चौधरी, उषाकिरण घिमिरेले लगायतले शुक्रवार आइएमी जनरल इन्स्युरेन्स लिमिटेड इटहरीका शाखा प्रमुख भोजराज अधिकारीलाई बिमाको पोलिसिबारे समन्वय गरेका थिए ।

शुक्रवार नै ११० जनाको पैसाको चेक पनि हस्तान्तरण गरिएको थियो । शाखा प्रमुख अधिकारीले पत्रकारलाई कोरोना लागेमा चाँडै माग दाबी गर्नका लागि आह्वान गरे । अन्य जिल्लामा थोरै पत्रकारहरूको मात्र बिमा गरिएको र सुनसरीमा भने धेरै पत्रकारहरूको बिमा गर्नु उदाहरणीय रहेको भन्दै उनले प्रशंसा गरे ।