धरान : पछिल्लो समय सप्तरीमा १२ जना र झापामा ४ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् ।

सप्तरी जिल्लाको राजगढ गाउँपालिकाका १२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले जानकारी दिएका छन् । सङ्क्रमित १७ देखि ४० वर्ष उमेरका रहेका छन् ।

यसै गरी झापाको गौरिगञ्जमा पनि ४ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको गौरीगञ्ज गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी दिएका छन् ।. मिश्रका अनुसार गौरीगंज गाउँपालिका वार्ड नं. ६ घर भएका २३, ३७ र ३ वर्षीय ३ जना पुरुष र वार्ड नं. ५ घर भएका १८ वर्षीय १ जना पुरुषमा कोरोना भाइरसको सङ्क्रमण भेटिएको छ । 

 उनीहरूको कोसी अस्पताल विराटनगरको प्रयोगशालामा थ्रोट स्वाबको परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको हो । संक्रमतिहरु भारतको गुजरात र मुम्बईबाट गौरीगंज आएको र उनीहरूलाई गौरीगञ्जमै रहेको क्वारेन्टाईनमा राखिएको थियो । क्वारेन्टाईनमै बसेकाहरूमा सङ्क्रमण देखिएकाले संयमित हुन गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले सबैलाई आग्रह गरेका छन् ।