इटहरी : कोरोना संक्रमण महामारी भएको बेला सरकारले मिडियालाई पैसा बाढेको आरोप लगाएको छ । जनसुरक्षा कोषको रकमबाट गरिब जनतालाई राहत दिनुको सट्टा सञ्चार माध्यमहरूलाई विज्ञापनको नाममा ५० लाख बढेको भन्दै काँग्रेसले आपत्ति जनाएको हो ।

नेपाली काँग्रेसको तर्फबाट आइतबार प्रदेश सभाको विशेष समयमा बोल्दै प्रमुख सचेतक केदार कार्कीले मिडियाको मुख थुन्न मिडियालाई बजेट वितरण गरेको आरोप लगाएका हुन् । कार्कीले गरिब जनताको पेटमा पुगोस् भनेर सङ्कलन भएको रकमबाट ५० लाख सञ्चार गृहलाई किन दिइएको भन्दै आपत्ति प्रकट गरेका थिए ।

लकडाउनमा आहत भएका गरिबलाई राहत दिन र संक्रमितहरुको उपचारमा खर्च गर्नुपर्नेमा सरकारले आफ्ना विरुद्ध समाचार नआओस भनेर विज्ञापनमा खर्च गरेको बताएका हुन् ।

‘बरु स्वास्थ्यकर्मी र सुरक्षाकर्मी जस्तै रिपोर्टिङ गर्न फ्रन्ट लाइनमा खटिएका संचारकर्मीलाई सहयोग गरेको भए हुन्थ्यो,’ कार्कीले भने, ‘प्रदेश सरकारले सरासर गलत काम गरेका छ । केन्द्र सरकार र यति धेरै सँघ संस्थाले कोरोना सचेतनाकालागि प्रचार गरिरहेका बेला यति ठुलो रकम किन खर्च गरियो ?’

उनले सङ्कटको बेला कोरोना विरुद्ध विज्ञापन गराउने काम सरकारले मातहतका मन्त्रालय, संयन्त्र र पालिकाहरू मार्फत गराउनु पर्नेमा सोझै रकम दिएर अनियमितता गरेको आरोप लगाए ।

केही समय अगाडी प्रदेश सरकारले स्थापना गरेको प्रदेश जनसुरक्षा कोषबाट प्रदेश एकका सञ्चारगृहहरू लाई प्रदेश सरकारले विज्ञापनको दिएको थियो । राहत बाढ्न भनेर बनाइएको कोषबाट विज्ञापन दिएको भन्दै काँग्रेसले आपत्ति जनाएको हो ।