धरान : सोमबार साँझ विभिन्न जिल्लामा थप १३ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको विज्ञप्ति अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १३ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये पाल्पा निस्दि गाउँपालिकाका १७ र ३६ वर्षीय २ जना पुरुष, नवलपरासी सारवल गाउँपालिका ६ वर्षीय १ बालक, गुल्मी रेसुङ्गा नगरपालिकाका २६ वर्षीय १ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।

त्यसै गरी कपिलवस्तुको मायादेवी गाउँपालिकाका ७ जना १९ देखि ४० वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । यसै गरी रुपन्देहीको गैडहवा गाउँपालिकाका ३ वर्षीय बालिका सहित ५४ वर्षीय १ जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ । थपिएका १३ जना सँगै कुल सङ्क्रमितको सङ्ख्या १ हजार ८ सय ११ पुगेको छ ।