इटहरी : इटहरी वडा नम्बर १४ र १५ का जनताका लागि खानेपानी आयोजनाको शिलान्यास भएपछि स्थानीय खुसी भएका छन् ।

शुक्रवार इटहरी १४ प्रगति चौकमा इटहरीका नगरप्रमुख द्वारीकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले आयोजनाको शिलान्यास गरेका छन् । टयुवेलवाटै खानेपानी उपभोग गर्दै आएका सो क्षेत्रका जनताको शुद्धखानेपानी उपभोग गर्न पाउने सपना पूरा हुने भएको भन्दै हर्षित भएका हुन ।

सो आयोजनावाट दुई वडाका करिब १५ हजार बासिन्दाले शुद्ध खानेपानी खान पाउने मेयर चौधरीले बताए । पहिलो चरणमा ट्यांकी निर्माण गरेर दोस्रो चरणमा पानी सप्लाईको काम अघि वढने छ ।

इटहरी उपमहानगरको माग र पहलमा सङ्घीय खानेपानी मन्त्रालयको सो आयोजना खानेपानी तथा ढल व्यवस्थापन कार्यालय विराटनगरले अगाडि बढाउने उपमेयर लक्ष्मी गौतमले जानकारी दिएकी छिन् । इटहरी उपमहानगरले सबै वडामा शुद्ध खानेपानी पुर्‍याउने लक्ष्य लिएको छ ।