इटहरी : प्रदेश नम्बर एक सरकारले कोरोनाबाट प्रभावित किसानहरुलाई राहत प्याकेज घोषणा गरेको छ । महामारीबाट किसानलाई परेको नोक्सानी सम्बोधन गर्न राहत प्याकेज र विदेशबाट आएका युवाकालागि स्वरोजगारमुलक कार्यक्रम संचालन गर्ने प्रदेश १ सकारले घोषणा गरेको हो ।

सरकारको प्राथमिकतामा स्वास्थ्य र कृषि पहिलो रहेको बताउदै प्रदेश एकका प्रदेश प्रमुखले शुक्रबार नीति तथा कार्यक्रममा पेस गरेका थिए । आर्थिक बर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अधिकारीले किसानका लागि रु. ४५ करोड राहत प्याकेज घोषणा गरेका हुन् ।

कोभिड-१९ कारण विश्वका विभिन्न भागबाट रोजागरी गुमाई प्रदेशका फर्कने युवाकालागि स्वरोजगारमुलक परियोजना संचालन गर्नेसमेत सरकारले तयारी गरेको छ । रुचिअनुसार कार्यक्रम तर्जुमा गर्न प्रदेश योजना आयोगबाट अनलाइन फारम आह्वान गरिने छ ।

त्यसैगरि, नीति तथा कार्यक्रममा प्रदेश सरकारले प्रदेश भित्रका जिल्ला अस्पतालहरुको स्तरोन्नती गर्ने भएको छ । अधिकारिका अनुसार जिल्ला अस्पतालहरुलाई आइसोलेन वार्ड सहित १०० शैय्याको क्षमतामा स्तरोन्नती गरिनेछ । आवश्यक पूर्वाधार भएका जिल्ला अस्पतालमा कम्तिमा चार वटा भेन्टिलेटर सहित आवश्यक चिकित्सक सहित जनशक्तिको ब्यवस्था मिलाइने भएको हो ।

त्यसैगरि कोशी अस्पताललाई प्रदेश मातहत ल्याउन पहल थालिनेछ र स्तरोन्नतिको कार्य शुरु गरिने सरकारको नीति रहेको छ । मेची अस्पताललाई कम्तिमा ६ वटा भेन्टिलेटर सहित स्तरोन्नति गरिने छ ।