धरान : ठेकेदारलाई खोला उत्खननको जिम्मा दिँदै आएको धरान उपमहानगरपालिकाले अब भने आफ्नै नियन्त्रणमा राख्ने भएको छ । आगामी वर्षको ठेक्का हाल सम्म पनि नलागेपछि धरानले आफ्नो खोला आफै उत्खनन गर्ने भएको हो ।

खोलाहरू ठेक्का लगाउँदा हरेक वर्ष झमेला हुने थालेको र लकडाउनको कारणले खोलाहरू ठेक्का लाग्न नसकेकोले आगामी आर्थिक वर्ष उपमहानगर आफैले खोला उत्खनन गर्ने निर्णय गरेको हो ।

यो पटक धरान-६ स्थित सेहरा खोला, धरान-१७ स्थित सर्दु खोला, र धरान-१७ कै पटनाली खोला ठेक्का लागेन । ठेक्का नलागेपछि उपमहानगरको कार्यपालिका बैठकले उत्खनन गर्न ७ सदस्यीय अनुगमन समिति समेत बनाएको छ ।

गत २० गते सम्पन्न बैठकले खोलाको व्यवस्थापन, सहजीकरण र अनुगमनको लागि वडा नं १५ को अध्यक्ष नरेश इवारम संयोजक रहने गरी ७ सदस्यीय समिति गठन गरेको थियो । समितिमा वडा ५, ६, १७ का अध्यक्षहरू पनि छन् भने वातावरण महाशाखा, राजश्व महाशाखा र नगर प्रहरी इकाई पनि सदस्य छन् ।

राजश्व तथा सूचना अधिकृत खगेन्द्र खतिवडाका अनुसार उपमहानगरपालिकाले खोला उत्खनन गर्ने भएकोले व्यवस्थापन, सहजीकरण र अनुगमन गर्न यो समिति गठन गरेको हो । खतिवडाको अनुसार उपमहानगरले खोला उत्खनन गरेर बिक्री गर्ने छ भने बिक्री नभएको नदीजन्य स्रोत 'स्टक' राख्नेछ ।