धरान : सप्तरी जिल्लामा थप ७ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् ।

यो नयाँ थपिएका सङ्क्रमित सँगै सप्तरी जिल्लामा मात्रै कोरोना सङ्क्रमितको सङ्ख्या ७७ पुगेको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले जानकारी दिएका छन् ।

थपिएका नयाँ सङ्क्रमितहरू  बालन बिहुल गाउँपालिकाको क्वारेनटाइनमा बसेकाहरू रहेको बताइएको छ । सङ्क्रमितहरू २ वर्षीय बालक देखि ४० वर्ष उमेर समूहका २ महिला सहित ५ जना पुरुष रहेका छन् । उनीहरू सबैको परीक्षण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको हो ।

सप्तरीमा लिइएको स्वाबको नमुना परीक्षण गर्न ल्याबहरूले लिन नमानेपछि रोकिएको थ्रोट स्वाबको नमुना फेरी लिन थालिएको प्रमुख यादवले बताए ।