धरान : धरानमा ज्येष्ठ २५ गते आइतबारबाट बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म बजार खोलिने भएको छ ।

सुनसरी उद्योग वाणिज्य सङ्घको पहलमा शनिवार धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई, उपप्रमुख मञ्जु भण्डारी, धरान उपमहानगरपालिकाबाट लकडाउन व्यवस्थापन सम्बन्धमा गठित प्रतिवेदन तयार समितिका संयोजक मनोजकुमार मेन्याङ्गवो, समितिका सदस्य प्रा. डा. राजेन्द्र शर्मा, इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेत लगायत सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गिरिधारी सापकोटा, निवर्तमान अध्यक्ष राजेन्द्र शाह तथा कार्य समितिका सदस्यहरूसँग भएको छलफलबाट सो निर्णय भएको हो ।

धरान उपमहानगरपालिकाबाट लकडाउन व्यवस्थापन सम्बन्धमा पूर्व मेयर मनोज मेन्याङ्गवोको संयोजकत्वमा प्रतिवेदन तयार गर्न एक समिति तयार गरिएको थियो । उक्त समितिले तयार पारेको प्रतिवेदन माथि छलफल भई शनिवार सो निर्णय भएको हो ।

छलफलबाट चाँडो बिग्रने प्रकृतिका दूध दही, माछा मासु, तरकारी, खाद्यान्नका पसलहरू बिहान ६ देखि १० बजेसम्म खोलिने तथा अन्य चाँडो नबिग्रने प्रकृतिका व्यावसायिक कारोबारहरू बिहान ९ देखि २ बजेसम्म खोलिने निर्णय भएको हो । धरान उपमहानगरपालिकाका कार्यालय, वडा समिति कार्यालय लगायत बैङ्क तथा वित्तीय संस्थाहरू बिदाका दिन बाहेक दैनिक खोलिने निर्णय भएको छ ।

सो प्रतिवेदन अनुसार ब्युटी पार्लर तथा सैलुन, जिम हल, सिनेमा हल, होटेल तथा लज, रेस्टुरेन्ट एन्ड बार, दोहोरी डान्स बार तथा ठेलामा राखी बिक्री गरिने चटपटे, पानी पुरी तथा फाष्टफुडका सामाग्रीहरू अर्को निर्णय नहुन्जेलसम्मका लागि नखोलिने निर्णय भएको कार्यसमितिका सदस्य विष्णु बरालले बताए ।

पसलहरू खोल्ने समयका सम्बन्धमा र पसल खोल्दा अपनाउनुपर्ने आवश्यक सुरक्षाका मापदण्डहरूका बारेमा सङ्घले व्यवसायीहरूलाई जानकारी गराउने सङ्घका महासचिव राजेश अग्रवालले बताए ।

Ubasangh-1 2