धरान : नेपाली काँग्रेस जिल्ला कार्यसमिति सुनसरीले जुम एप्लिकेशन मार्फत डिजिटल बैठक सम्पन्न गरेको छ ।

१ नं. प्रदेशका संसदीय दलका नेता तथा सुनसरी सभापति राजीव कोइरालाको अध्यक्षतामा बसेको डिजिटल बैठकले कोभिड १९ को महामारी जनस्वास्थ्य र राहत, संविधान संशोधन, एमसीसी, पार्टीको आगामी महाधिवेशन, केन्द्र, प्रदेश र स्थानीय तहको बजेट, नीति तथा कार्यक्रम, शैक्षिक क्रियाकलाप, रुकुम घटना, धरानको खानेपानी आयोजना, लगायतका राष्ट्रिय तथा स्थानीय समसामयिक विषयवस्तुहरू माथि गहन छलफल, विचार विमर्श र आवश्यक निर्णयहरू गरेको जिल्ला प्रवक्ता एवम् सचिव सुजेन्द्र गोलेले बताए ।

बैठकमा लक डाउनका कारण दुई महिनादेखि जिल्ला कार्यसमितिको बैठक बस्न नसकेका कारण प्रविधिको सदुपयोग गर्दै डिजिटल बैठकको आयोजना गरिएको सभापति कोइरालाले बताए । उनले अबको युगमा सबैको प्रविधिमा पहुँच पुराउनुपर्ने आवश्यकता देखिएको बताउँदै डिजिटल बैठकलाई निरन्तरता दिने बताए ।

जिल्ला सचिव केदार भण्डारी र जिल्ला सदस्य वीरेन्द्र शाहले सहजीकरण गरेको बैठकमा सांसद सिताराम मेहता, वरिष्ठ नेता प्रदीप चौधरी, उपसभापतिद्धय सञ्जयप्रसाद श्रेष्ठ र हरिलाल मेहता, सचिव एवम् प्रवक्ता सुजेन्द्र गोले, सहसचिव नगेशचन्द्र राई, जिल्ला सदस्यहरू गोविन्द विश्वकर्मा, निल कुमारी गिरी, विमला ढकाल, दिपेशजंग बस्नेत, रुपा कार्की, अलिम अन्सारी, रमला तामाङ, कृष्ण मेहता, विनोद मेहता, प्रदीप मेहता, राजेश भट्टराई, सुनिल साह, गोविन्द बस्नेत, सहनाज बेगम, चुमुकलाल राय, योगेन्द्र मेहेता, इनरुवा नगर प्रमुख राजन मेहेता, देवानगञ्ज गाउँपालिका अध्यक्ष, लालीप्रसाद मेहेता, प्रदेश सभा सदस्यका प्रत्याशी बुद्धि कटवाल लगायतले आ आफ्नो विचार राखेका थिए ।