धरान : भारतमा तीन दिनयता दैनिक १० हजारभन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ५७ हजार नाघेको भारतमा तीन दिन यता मात्रै ३० हजारभन्दा बढी सङ्क्रमित थपिएका छन् ।

शुक्रवार र शनिवार पनि १० हजारभन्दा बढीमा सङ्क्रमण देखिएको भारतमा पछिल्लो २४ घण्टामा १० हजार ८८४ जनामा सङ्क्रमण पुष्टि भएको छ । शनिवार त्यहाँ १० हजार ४३८ जनामा सङ्क्रमण पुष्टि भएको छ थियो ।

भारतमा सोमबार बिहान यो समाचार तयार पार्दासम्म २ लाख ५७ हजार ५०६ जनामा सङ्क्रमण पुष्टि भएको छ । एकै दिन अरू २६१ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको सङ्ख्या ७ हजार २०७ पुगेको छ ।

एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको सङ्क्रमण देखिएको भारतमा सङ्क्रमितमध्ये १ लाख २३ हजार ८४८ जना सङ्क्रमणमुक्त भएका छन् ।

कोरोना भाइरस (कोभिड-१९)  को सङ्क्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौँ चरण थप्दै जुन ३० सम्म पुर्‍याइएको छ । तर उक्त लकडाउन जुन १ देखि क्रमिक रूपमा खुकुलो बनाउँदै लगिएको छ ।