धरान : धरान उपमहानगरपालिकाको आर्थिक वर्ष २०७७/०७८ को अनुमानित बजेट १ अर्व ७२ करोड ३५ लाख ४३ हजार ५ सयको बजेट प्रस्तुत गर्दै सातौँ नगर सभा सम्पन्न भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडिटोरियम हलमा बुधवार अबेर भएको सातौँ नगर सभामा गत वर्षको तुलनामा ५ करोड ५६ लाख ४३ हजार ५ सय रुपैयाँले कम बजेट धरान उपमहानगरपालिकाले सार्वजनिक गरेको छ ।

गतबर्ष उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६/७७ को बजेट १ अर्व ७७ करोड ९१ लाखको बजेट सार्वजनिक गरेको थियो । गतबर्षको अनुपातमा धरान उपमहानगरपालिकाको बजेट यस पटक घटेर आएको हो ।

नगर सभामा बजेट प्रस्तुत गर्दे धरान उपमहानगरपालिकाका उपमेयर मञ्जु भण्डारी सुबेदीले आन्तरिक आय तर्फ ५३ करोड ८२ लाख ४३ हजार ५ सय, सङ्घीय समानिकरण अनुदान १६ करोड ४२ लाख २९ हजार ४ सय ४४, प्रदेश राजश्व वाडफाड १७ करोड ३ लाख ८० हजार, सङ्घीय सशर्त अनुदान ४४ करोड २० लाख प्रस्तुत गरिन् ।

त्यसै गरी सङ्घीय समपूरक अनुदान तर्फ ३ करोड ३३ लाख, सङ्घीय विशेष अनुदान तर्फ १ करोड ५० लाख, जिल्ला समन्वय समितिबाट १ करोड, खानेपानी व्यवस्थापन बोर्डबाट १ करोड, सडक बोडतर्फ १ करोड २० लाख, जनसहभागिता मार्फत १ करोड ५० लाख गरी कुल जम्मा १ अर्व ७२ करोड ३५ लाख ४३ हजार ५ सय बराबर को अनुमानित आय सार्वजनिक गरिएको छ ।

यसै गरी व्ययतर्फ आर्थिक वर्ष २०७७/०७८ को व्ययको कार्यालयको प्रशासनिक खर्च तर्फ २ करोड, कार्यक्रम तथा पुँजीगत खर्च तर्फ २० करोड गरी जम्मा २२ करोड विनियोजन भएको छ ।

यसै गरी क्रमगत भुक्तानी तर्फ २२ करोड ५५ लाख, नगर गौरव योजना तर्फ ४ करोड ५० लाख, अन्य विषयगत कार्यक्रम जस्तै शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, सूचना, वन तथा वातावरण, विपद् व्यवस्थापन, आर्थिक विकास, सामाजिक विकास, कला, साहित्य, संस्कृति, मजदुर कल्याण कार्यक्रम, सुकुम्वासी व्यवस्थापन, ऋणको साँवा व्याज भुक्तानी लगायत अन्य पुँजीगत निर्माण सुधारतर्फ गरी ९१ करोड ४८ लाख ७५ हजार गरी कुल जम्मा १ अर्व ७२ करोड ३५ लाख ४३ हजार ५ सय बराबरको व्यय प्रस्तुत गरिएको छ ।

यस्तै वडागत बजेटतर्फ लागत बजेटको कार्यक्रम तथा पुँजीगत खर्च तर्फ २० करोड, प्रशासनिक खर्चतर्फ २ करोड गरी जम्मा २२ करोड बजेट विनियोजन भएको छ ।

यस्तै सहरी योजना तथा भौतिक पूर्वाधार विकास तर्फ विगत वर्षहरूदेखि नै क्रमगत रूपमा सञ्चालनमा रहेका योजनाहरूको भुक्तानी तथा नयाँ कार्यक्रम र नगर गौरवका योजनाहरूका लागि ३५ करोड ४५ लाख विनियोजन गरिएको छ ।

यसै गरी शिक्षा युवा तथा खेलकुद तर्फ सङ्घीय सशर्त अनुदान ३५ करोड २५ लाख, नगरपालिका स्रोत तर्फ २ करोड ५० लाख गरी जम्मा ३७ करोड ७५ लाख बजेट विनियोजन भएको छ ।

यसै गरी स्वास्थ्यतर्फ घोषित विभिन्न नीति तथा कार्यक्रमलाई संवोधन गर्न सङ्घीय सशर्त तर्फ ४ करोड ३८ लाख र नगरपालिका स्रोत तर्फ १ करोड गरी कुल जम्मा ५ करोड ३८ लाख बजेट विनियोजन भएको छ ।

यस्तै सामाजिक विकासतर्फ सामाजिक समावेशीकरण, सकारात्मक विभेद तथा लक्षित कार्यक्रमहरू सञ्चालन गर्न २ करोड २ लाख बजेट विनियोजन भएको छ ।

यस्तै आर्थिक विकास तर्फे अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको कृषि, पशु, सहकारी र उद्योग सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्न सङ्घीय स्रोत र नगरपालिका स्तरीय स्रोत गरी १ करोड ९० लाख बजेट विनियोजन भएको छ ।

वन वातावरण तथा विपद् व्यवस्थापन तर्फ वातावरण, सरसफाइ, जलवायु अनुकूलनका कार्यहरू, बिपद व्यवस्थापनको पूर्व तयारी सम्बन्धी कार्यहरू, जलाधार क्षेत्रको खानेपानी मुहान सरसफाइ र संरक्षण लगायत कामको लागि १ करोड ३० लाख, वैकल्पिक ऊर्जा प्रयोग उपयोगका लागि .८ लाख गरी कुल जम्मा १ करोड ३८ लाख बजेट विनियोजन भएको छ ।

यस्तै पर्यटन तर्फ धार्मिक, सांस्कृतिक तथा बहुजातिय विविधता युक्त धरानलाई पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गर्न छनौट भएका कार्यहरूका लागि १ करोड ५५ लाख बजेट विनियोजन भएको छ ।

यसै गरी सूचना तथा सञ्चार तर्फ लोकतन्त्रको संवाहकको रूपमा रहेको सूचना तथा सञ्चार क्षेत्रको विकासका लागि ३० लाख बजेट विनियोजन भएको छ ।

साहित्य कला र संस्कृति तर्फ साहित्य कला र संस्कृतिका कार्यक्रमहरू गर्न धरान प्रज्ञा प्रतिष्ठान मार्फत सञ्चालन गर्न ३० लाख बजेट विनियोजन भएको छ ।

अव्यवस्थित बसोबास तथा सुकुम्वासी व्यवस्थापन तर्फ यस क्षेत्रको विद्यामान समस्या समाधान गर्दै विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न ५० लाख बजेट विनियोजन भएको छ ।

मजदुर कल्याण कार्यक्रम तर्फ विकास निर्माणको प्रमुख स्रोतको रूपमा रहेको श्रम शक्तिको हक हित तथा कल्याणका कार्यक्रमहरू सञ्चालन गर्न जम्मा ५ लाख बजेट विनियोजन भएको छ ।

न्याय सम्पादन तर्फ न्याय र समानता कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने संवैधानिक व्यवस्था अनुरूप गठित न्यायिक समितिको विभिन्न कार्यक्रमको लागि २५ लाख बजेट विनियोजन भएको छ ।

सार्वजनिक जग्गा संरक्षणतर्फ नगर क्षेत्रभित्र रहेका विभिन्न सार्वजनिक जग्गाको संरक्षण र उपयोग सम्बन्धी कार्यक्रम सञ्चालन गर्न ५० लाख बजेट विनियोजन भएको छ ।

विमानस्थल जग्गा व्यवस्थापन तर्फ विमानस्थल जग्गा व्यवस्थापनको लागि आवश्यक कार्य गर्न जम्मा ८० लाख बजेट विनियोजन भएको छ ।

राजस्व सुधार तथा संस्थागत क्षमता विकास तर्फ नगर को आन्तरिक स्रोत परिचालन गरी क्रमशः आत्म निर्भर हुँदै जाने नीति अनुरूप राजस्व सुधार कार्यक्रमको लागि ४० लाख बजेट विनियोजन भएको छ ।

नगर प्रोफाइल तथा जी एम आइ एस अपडेट तर्फ नगर प्रोफाइल तथा जी एम आइ एस अपडेटका लागि ५० लाख बजेट विनियोजन गरेको छ ।

अन्य कार्यक्रमहरू तर्फ विभिन्न प्रबन्धनात्मक कार्यक्रमहरू, जनसहभागिताबाट सञ्चालन हुने कार्यक्रमहरू, नगर विकास कोषबाट लिएको ऋणको साँवा ब्याज भुक्तानी रकम, सडक बत्ती लगायतका विभिन्न कार्यक्रमका लागि २८ करोड १० लाख ७५ हजार बजेट विनियोजन भएको छ ।

मेयर कोष तर्फ ८० लाख तथा मर्मत ५० लास आकस्मिक कोषमा ३० लाख गरी जम्मा २ करोड बजेट विनियोजन गरिएको छ ।

समपूरक कोष सङ्घ प्रदेश तथा विकास साझेदार सँग वित्तीय साझेदारी गरी आकर्षण गर्न र दीर्घकालीन तथा रणनीतिक महत्त्वको योजनाहरू सञ्चालन गर्न कोषको व्यवस्था गरेको छ । जसमा ४ करोड बजेट विनियोजन भएको छ ।

विपद् व्यवस्थापन कोष विपद् व्यवस्थापन कोण तर्फ ८० लाख विनियोजन भएको छ ।
कोभिड १९ लगायतका महामारी नियन्त्रण कोभिड १९ लगायतका महामारी नियन्त्रण का लागि २ करोड बजेट विनियोजन भएको छ ।

यस बजेट स्वीकृति पश्चात् सङ्घ, प्रदेश र स्थानीय सरकारबाट साझेदारी वा अन्य कुनै रूपमा बजेट प्राप्त हुने भए वार्षिक कार्यक्रममा परेका आयोजनामा रकम थप गर्न वा आयोजनाको सूची प्रोजेक्ट बैङ्कमा रहेका आयोजना र कार्यक्रममा प्रमुख निर्णय गरी कार्यान्वयन व्यवस्था मिलाउन सक्ने छ ।

त्यसै गरी कोरोना महामारीका कारण आन्तरिक आयमा भारी मात्रामा सङ्कुचन हुने देखिएकोले आगामी आ.व. २०७७÷७८ देखी लागु हुने गरी जनप्रतिनिधिहरूको पोसाक भत्ता कटौती गरिएको छ । त्यसै गरी नगरपालिका बाट गठन गरिएका विभिन्न समितिका पदाधिकारीहरूले लिँदै आएको पारिश्रमिक कटौती गरिएको छ । त्यसै गरी आ.व. २०७७/७८ देखी लागु हुने गरी नगरपालिका को कर्मचारीहरूलाई हाल पाउँदै आएको खाजा भत्तामा मासिक २ हजारका दरले कटौती गरिएको छ ।

 

 

2

2 3 4 5 6 7 8 9 10 11 12