इटहरी : सेतो दौरा सुरुवाल । ती माथि कालो कोट । नयाँ तेह्रथुमे ढाका टोपी । टल्किले छालाका जुत्ता र हातमा सेतो पन्जा लगाएर आँपको बिरुवा रोप्ने उनै प्रदेश १ का मुख्यमन्त्री शेरधन राई हुन् । जुत्तामा हिलो नलागोस् भनेर प्लाइउडमै बसेर बिरुवा रोप्दै छन् उनी ।

कोरोना संक्रमणबाट बच्न पन्जा लगाउनुपर्ने उनको बुझाई सही लाग्यो । तर मास्क लगाउन भने बिर्सिएछन् । भाइरस फैलिन नदिन पन्जा भन्दा मास्क अनिवार्य हो भन्ने उनले बुझ्न भ्याएनन् । उनलाई हातमा आएको भाइरस साबुन पानीले धुँदा जान्छ भन्ने विश्वास भएन ।

जन्मदिनको उपलक्ष्यमा बिरुवा रोप्नु आफैमा नयाँ सुरुवात हो । यसको सन्देश अत्यन्तै महत्त्वपूर्ण छ । जनस्तर सम्म यस्तै सुरुवात भयो होस् भन्ने कामना गरौँ । अहिले उनको त्यो तस्बिर उनकै पार्टीका कार्यकर्ताले भाइरल बनाइरहेका छन् । सर्वहारा मुख्यमन्त्रीको अवस्था यस्तो छ यस्तै हो गणतन्त्र ? जस्ता कुरा लेखेर तस्बिरको खुबै प्रचार भइरहेको छ ।

फलफूलको राजा मानिने आँपको बिरुवा रोप्दा मुख्यमन्त्रीमा पनि राजाकै झल्को दिने शैली सुहाउँदो देखिएन । जनताले हुकुमी मुख्यमन्त्री भन्दा पनि सर्वहारा मुख्यमन्त्रीको आशा गरेका छन् । प्रदेश सांसद बन्न भोट दिने जनताले मात्र हैन मुख्यमन्त्री बनाउँदा भोट दिने नेताले पनि सर्वहाराकै नेतृत्व चयन गरेका हुन् ।

मुख्यमन्त्री भए लगत्तै सकारात्मक चर्चाको पारो उकालो लागेको थियो । सात वटा प्रदेश मध्ये सबैभन्दा ऊर्जाशील र क्षमतावान् मुख्यमन्त्री प्रदेश १ का मुख्यमन्त्री हुन् भन्ने विश्वास थियो । तर त्यो विश्वास बिस्तारै क्षीण बन्दै गयो । वास्तवमै भन्नुपर्दा मुख्यमन्त्री बनाउन सहयोग गर्ने योद्धाहरूमै विश्वास टुट्दै गयो ।

घरदेखि खुद्रा पसलको उद्घाटनमा उपस्थितिले मुख्यमन्त्रीलाई सस्तो बनायो । सहिदको जन्मस्थलमा नमुना बस्ती बनाउने निर्णय कार्यान्वयन नहुँदा झनै विश्वास गुम्दै बन्दै गयो । आतिथ्यता ग्रहण गर्नु नै मुख्य जिम्बेबारी बन्दै गइरहेको यथार्थ हो । यस बिचमा अन्य विभिन्न विवादमा ल्याउने काम नभएका हैनन् । तर जनताले त्यसलाई विश्वास गरेनन् ।

मुख्यमन्त्री शेरधन राई ५ बर्षे कार्यकालको मुख्यमन्त्री मात्र हैन । प्रदेश १ का जनताको आशा र भरोसाको केन्द्र हो । सङ्घीयता प्रतिको विश्वास टिकाउने आधार पनि हो । सङ्घीयता प्रतिको मोह भङ्ग भइरहेको अवस्थामा मुख्यमन्त्रीले विश्वास बढाउने काम गर्नुपर्छ । सङ्घीयता भएकै कारण जनताले महसुस गर्न सक्ने केही अनुपम सुरुवात हुनुपर्छ ।

सङ्घीयताकै कारण खर्च बढेको र विकाशको बाधक सङ्घीयता भएको भन्ने संशय पैदा हुन थालेको छ । मुख्यमन्त्रीको यस्ता गतिविधिले आजको संशय भोलि विश्वासमा परिणत हुनेछ । र पहिलो र अन्तिम मुख्यमन्त्री आफै हुनुहुनेछ ।

हुन त मुख्यमन्त्री आफूले नचाहेर पनि यस्ता विवादमा फस्ने काम भएका छन् । सौखिन बन्ने र जनताको विश्वास गुमाउने मुख्यमन्त्रीको रहर छैन होला । तर सहयोगी र आसेपासेले दिएको सल्लाह उनको लागी महँगो साबित हुने गरेका छन् ।

तिनीहरू सकेसम्म धेरै चाकरी गर्न चाहन्छन् । मुख्यमन्त्रीलाई माटोको सुगन्ध थाहा नभएको हैन । धरती सँगको आत्मीयता महसुस नभएको हैन । मध्यम वर्गीय किसानको छोरालाई हिलोमाटो अत्यन्तै प्रिय हुन्छ । तर घेराबन्दीमा परेपछि त्यो आत्मीयता साट्न नपाइँदो रहेछ भन्ने त्यही तस्बिरले देखायो । जनताको मुख्यमन्त्री बन्ने यो अवसर फेरी नआउन सक्छ । आफ्नो धरती बिर्सन हुन्न भन्ने मुख्यमन्त्रीलाई भनिरहनु पर्दैन ।