इटहरी : उपमहानगरको सातौँ नगर सभाबाट आगामी आर्थिक वर्ष ०७७/०७८ को बजेट नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ ।

नगर प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा हिजो भएको नगर सभा बैठकले सर्वसम्मतले बजेट नीति तथा कार्यक्रम पारित गरेको हो । बैठकले अर्थ विधेयक २०७७ र विनियोजन विधेयक २०७७ सर्वसम्मतले पारित गरेको छ । विधेयक माथिको छलफलमा १४ जना नगर सभा सदस्यहरूले भाग लिएका छन् । नीति कार्यक्रम बजेट,अर्थ र विनियोजन विधेयक माथि उठेका प्रश्नहरूको उपमेयर लक्ष्मी गौतमले जवाफ दिए ।

उनले नगर सभा सदस्यहरूले अहिलेसम्मकै उत्कृष्ट बजेट भनेकोमा धन्यवाद ज्ञापन गरिन् । उनले कोरोना महामारीले जन्माएको जटिल परिस्थिति सहज हुने बित्तिकै रात्रि बजार सञ्चालन गरिने जानकारी पनि दिइन । इटहरीमा घुम्दै गरेको पृथ्वीमाथि नेपालको नक्सा सहितको आकर्षक स्तम्भ निर्माण गरिने बताइन् ।

इटहरी उपमहानगरले भत्तामा कटौती गरेर कोरोना तथा स्वास्थ्य कोषमा जम्मा गर्नै भएको पनि उनले बताइन् । जनसङ्ख्या,भूगोल र आय श्रोतलाई आधार मानेर व्यवस्थित ढङ्गले बजेट विनियोजन गरिएको जानकारी दिइयो । बैठकमा नगर सभा सदस्यहरू निश्चल पोखरेल,पार्वता बराइली,तोया कुमारी ढकाल र वालकृष्ण विष्टले अर्थ र विनियोजन विधेयकका बारेमा बोलेका थिए ।

उपमहानगरको सातौँ नगर सभामा गत असार १० गते उपप्रमुख लक्ष्मी गौतमले १ अर्व ७८ करोडको बजेट प्रस्तुत गरेकी थिइन् । बजेटमा १ अर्व ७८ करोड कुल विनियोजन मध्ये चालु तर्फ ७१ करोड ७५ लाख, पुँजीगततर्फ १ अर्व ४ करोड ७५ लाख र वित्तीय व्यवस्था तर्फ १ करोड ४० लाख अनुमान गरिएको छ । बजेटमा स्वास्थ्य,कृषि,रोजगार र भौतिक संरचना निर्माणलाई प्राथमिकता दिइएको छ ।