धरान : सङ्खुवासभाको सिलिचोङ गाउँपालिका-१ सिसुवाखोलामा पहिरोमा हराइरहेका ११ जना आइतबार राति सम्म फेला परेका छैनन् ।

पहिरोमा परी बेपत्ताको खोजी र उद्दारमा खटिएका स्थानीय एक युवा २८ वर्षीय प्रशान्त राईको मृत्यु भएको छ । उनी उद्दारको क्रममा खटिरहेको बेलामा एक्कासि बेहोस भएका थिए ।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक नवराज मल्लका अनुसार पहिरो गएको स्थल पुग्न सङ्खुवासभा सदरमुकाम खाँदबारीबाट डेढ दिनको पैदल दुरीमा रहेकोले थप उद्धारका लागि सदरमुकामबाट सुरक्षाकर्मी परिचालन गरिएको छ । 

उद्दारकालागी  खाँदबारीबाट जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सन्तोष राईको कमान्डमा १५ जना प्रहरी, सशस्त्र प्रहरी १३ जना, नेपाली सेनाको ३० जनाको टोली जम्मा ५८ जना सुरक्षाकर्मीको संयुक्त टोली सिसुवा प्रहरी चौकी पुगेर बास बसेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । भोलि बिहान मात्रै सो टोली घटना स्थलमा पुग्ने बताइएको छ ।

घटना स्थलमा प्रहरी चौकी ताम्कुबाट ५ जना प्रहरी, सिसुवा प्रहरी चौकीबाट ४ जना, ताम्कुमा रहेको नेपाली सेनाको बेसक्याम्पबाट १२ जना नेपाली सेना घटना स्थलमा पुगेर उद्धार र खोजी लागिरहेको प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिएका छन् । उनका अनुसार पहिरोले ९ घर बगाएको छ भने ११ जना सम्पर्क विहीन छन् ।

वेसिन्दा गाउँका गोवासिंह राई, राममान राई, जुद्ध बहादुर राई (गैरी), जुद्ध बहादुर राई (माने), नजमाया राई, हर्कराज राई, भीम बहादुर राई, सन्दीप राई, सुभधन राईको घर बगाएको प्रहरी नायव उपरीक्षक मल्लले बताए । पहिरोले ५ घरका ११ जना बेपत्ता भएका हुन् । पहिरोमा ६० वर्षीय राममान राई, उनकी श्रीमती ५५ वर्षीया हस्तकुमारी राई, छोरीहरू २१ वर्षीया एन्जिला राई गर्भवती समेत थिइन ।

यसै गरी ११ वर्षीया नम्रता राई ,जुद्धबहादुर राई ६५ वर्षीया श्रीमती गोरी माया राई र छोरी २२ वर्षीया प्रकृति राई सम्पर्कमा छैनन् ्। अर्का ५२ वर्षीय जुद्धबहादुर राई (माने) र उनकी श्रीमती ४५ वर्षीया उत्तरकुमारी राई पनि बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यसै गरी ७० वर्षीय नजमाया राई, ८४ वर्षीय हर्कराज राई, उनकी श्रीमती ८२ वर्षीय आइतमाया पनि बेपत्ता रहेका छन् ।

यसै गरी, पहिरोमा परेका चार जनाको जीवितै उद्धार गरिएको छ । स्थानीयले पहिरोमा परेका गोवासिंह राई, भीम सरी राई, फूलमाया र भीमबहादुर राईलाई सकुशल उद्धार गर्न सफल भएका छन् । गेवा सिंह राईको घर पुरै बगाएको र उनको बायाँ हात र बायाँतिरको टाउकोमा गहिरो चोट लागेको छ । उनको अवस्था गम्भीर छ । उनकी श्रीमती ६० वर्षीय फूलमाया राई, १४ वर्षीय छोरी भीमसरि सामान्य घाइते भएका छन् । त्यस्तै ५५ वर्षीय भीमबहादुर राईको घर पनि पहिरोले बगाएको छ । उनको स्वास्थ्य अवस्था सामान्य छ । सन्दीप राई र शुभ धन राईको घर बगाएपछि उनीहरू सुरक्षित स्थानतर्फ सरेका छन् । अविरल वर्षापछि आइतबार बिहान गएको पहिरोले सिसुवाखोलाको बेसिन्दा गाउँ बगाएको हो ।