धरान : विश्व महामारीको रूपमा फैलिएको कोरोना संक्रमणणको जोखिमलाई मध्यनजर गरी यस वर्ष बोलबम मेला नलाग्ने भएको छ ।

आज इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, पिण्डेश्वर बाबा धाम समिति, धरान उपमहानगरपालिका, धरान १४ पिण्डेश्वर मन्दिर प्राङ्गणमा बसेको छलफलले कोरोनाका कारण बोल बम मेला नलगाउने निर्णय भएको हो ।

छलफलमा बोल्दै इलाका प्रशासन कार्यालय धरानका प्रमुख चन्द्रबहादुर कार्कीले भक्तजनहरूको धार्मिक आस्थालाई ठेस नलगाई कोरोनाको जोखिम न्यूनीकरणकालागि यस पटक बोलबम मेला नलगाउने निर्णय भएको बताए ।

धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले बोलबम मेला नलगाए पनि भक्तजनहरू आउने सम्भावना धेरै भएकाले सूचना जारी गर्दै साउन महिनाको पहिलो सोमबार बोलबम भक्तजनहरूलाई सम्झाउने बुझाउने काम गरिने बताए । उनले पनि भक्तजनहरूको धार्मिक आस्थालाई ठेस नपुग्ने गरी कोरोनाको जोखिम न्यूनीकरण गर्न यस पटक बोलबम मेला नलाउने निर्णय भएको बताए ।

विश्वलाई तहस नहस बनाएको कोरोना भाइरस सङ्क्रमण रोक्न नेपाल सरकारले गरेको जोखिम न्यूनीकरण अनुरूप मन्दिरहरूमा समेत लकडाउन गरेकोले बोलबम मेला यस पटक नलगाउने निर्णय भएको पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास बनेपालीले बताए । उनले धरानमा बोलबम सुरु भए यता पहिलो पटक सरकार तथा सम्बन्धित पक्षले बलबोम नलगाउने निर्णय गरेको बताए ।

वि.सं. २०३९ सालदेखि लगातार धरान-१४ विजयपुरमा रहेको पिण्डे्श्वर मन्दिरमा सप्तकोसीबाट जल ल्याएर चढाउन सुरुवात गरिएको हो । बोलबमको सुरुवात भएदेखि पहिलो पटक सरकारी तथा सम्बन्धित पक्षले बोलबम मेला नलगाउने निर्णय गर्नुपरेको धरान-१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए । उनले धरानका अरू मठ मन्दिरहरूमा पनि भक्तजनहरुलाई नआउन सूचना जारी गर्ने बताए ।

Bolbom-1