धरान : इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विकास पोखरेल घुस रकमसहित पक्राउ परेको घटनामा इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

मेयर चौधरीले एक प्रेस विज्ञप्ति जारी गर्दै नगरपालिकाका पदाधिकारी तथा कर्मचारीहरूलाई भ्रष्टाचार नगर्न र भ्रष्टाचारजन्य गतिविधिबाट अलग रहन पटक पटक सचेत गराउँदै आएको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् । मेयर चौधरीले घुस रकमसहित पक्राउ परेको घटनामा अधिकृत पोखरेल आफै व्यक्तिगतरुपमा जिम्मेवार रहने पनि उल्लेख गरेका छन् ।

उनले इटहरी उपमहानगरपालिका भ्रष्टाचारजन्य गतिविधि प्रति शून्य सहनशीलताका साथ काम गर्दै आएको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् । साथै, भ्रष्टाचारजन्य गतिविधिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र न्यायिक निकायबाट हुने अनुसन्धानमा आवश्यक सहयोग पुर्‍याउन उपमहानगरपालिका तयार रहेको पनि विज्ञप्तिमा भनिएको छ ।

साउन १ गते अख्तियारको टोलीले कक्षा ८ को परीक्षा सञ्चालनमा भएको खर्चको फारफरक गरी भुक्तानी गर्ने प्रयोजनमा सेवाग्राहीसँग घुसबापत ६५ हजार रकमसहित लेखा अधिकृत विकास पोखरेललाई अख्तियारले पक्राउ गरेको थियो ।

Press-Bigyapti