सुनसरी : राष्ट्रिय स्तरको टिकटक स्टार प्रतियोगिता हुने भएको छ । ‘सदाबहार राष्ट्रिय टिकटक स्टार प्रतियोगिता ०७७’ नाम दिइएको प्रतियोगिता कालागि आवेदन सुरु भएको छ ।

प्रतियोगिता सुनसरीको बराहक्षेत्रमा रहेको सदाबहार मिडिया प्रा.ली.को आयोजनामा हुने भएको हो ।
आयोजकले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा भदौ १३ बाट प्रतियोगिता सुरु भएर कात्तिक २८ मा सम्पन्न हुने जानकारी दिएको छ ।

टिकटक मार्फत अभिनय गर्दै आफ्नो भिडियो बनाइ प्रा.ली.को फेसबुकमार्फत पठाउनुपर्ने र विभिन्न चरणमा प्राप्त गर्ने भ्युजको आधारमा विजेता घोषणा गर्ने आयोजकले जनाएको छ ।

भदौ १३ देखि भदौ २८ गतेसम्म आवेदन लिइने र सहभागितालागि विभिन्न मोबाइल वालेटबाट दर्ता शुल्क एक सय रुपैयाँ तिर्नुपर्ने प्रतियोगिताका आर्थिक संयोजक भरत खड्काले बताए ।

लकडाउनको समयमा लोकप्रिय बन्दै गएको टिकटक मार्फत आफ्नो अभिनय, क्षमता प्रस्तुत गरेर सहभागी हुन सक्ने र विजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने सदाबहार मिडियाका अध्यक्ष भवानी धिमालले बताए । उनका अनुसार उपविजेताले एक लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

भिडियो नेपाली भाषामा हुनुपर्ने आयोजकले जनाएको छ । सामाजिक विकृति फैलाउने, व्यक्तिगत आक्षेप लगाएका, राष्ट्रियतामाथि आँच आउने, अश्लील प्रकृतिका भिडियोलाई समावेस नगराइने प्रतियोगिताका संयोजक देव भट्टराईले जानकारी दिए ।

टिकटक भिडियोमा स्वयम् आफ्नै हुनुपर्ने र आफैँले अभिनय गरेको हुनुपर्ने, भिडियो १५ सेकेन्ड भन्दा लामो हुनुपर्ने संयोजक भट्टराईको भनाइ छ ।

पहिलो चरणमा प्रतियोगी मध्ये उत्कृष्ट एक सय जनाको भिडियोमा आएको भ्युजको आधारमा उत्कृष्ट २० छनोट गरिने छ । क्रमशः ५ औ चरणसम्म भोटिङको आधारमा उत्कृष्ट १५, उत्कृष्ट १०, उत्कृष्ट ५ र उत्कृष्ट ३ र फाइनल गरी विजेता घोषणा गरिने आयोजकले जानकारी दिएको छ ।

कोभिड-१९लाई मध्यनजर गर्दै भिडभाड रहित दसै, तिहारलाई प्रोत्साहन भर्चुअल माध्यमबाट राष्ट्रिय स्तरको प्रतियोगिताको अवधारणा ल्याएको कार्यक्रम संयोजक भट्टराईले बताए ।