धरान : धरान २० बिष्णुपादुकाको भालुढुंगा सामुदायिक बनमा मेयरले सालको रुख काटेको घटनाको मुचुल्का उठाई सब डिभिजन बन कार्यालय विष्णुपादुकाले आज जिल्ला बन कार्यालय सुनसरीमा प्रतिवेदन बुझाएको छ ।

सब डिभिजन वन कार्यालय विष्णुपादुकाका प्रमुख राजेन्द्र यादवले आज जिल्ला वन कार्यालय सुनसरीमा प्रतिवेदन बुझाएको जिल्ला वन कार्यालय सुनसरीका निमित्त प्रमुख ज्ञान कुमार लामाले बताए । आज सम्बन्धित वन कार्यालयले प्रतिवेदन बुझाएकोले थप अनुसन्धान सहित आइतबार सो घटनाको बारेमा अनुसन्धान अधिकृत तोकिने निमित्त प्रमुख लामाले बताए ।

भालुढुंगा सामुदायिक वनमा धरान उपमहानगरपालिकाका मेयर तिलक राईले आफै सखुवाको हरियो रुख काटेको भन्दै पछिल्लो समय धरानमा हट इस्यु बनिरहेको यो घटनालाई गम्भिररुपमा छानबिन गर्न आइतबार अनुसन्धान अधिकृत तोकी प्रदेश १ प्रदेश वन ऐन २०७७ लाई टेकेर अनुसन्धान गरिने बताइएको छ । वन समूहमा पनि पक्ष र विपक्ष देखिएको र वन समूहका अध्यक्ष बुद्धिमान तामाङले वन समूहका कोषाध्यक्ष भीम बस्नेत र मेयर तिलक राईको निर्देशनमा रुख काटिएको भन्दै किटानी जाहेरी वन कार्यालयमा यस भन्दा अघि दिई सकेका छन् ।

यसै गरी रुख काट्ने विरुद्धमा पनि किटानी जाहेरी अध्यक्ष तामाङले सब डिभिजन वन कार्यालय विष्णु पादुकामा जाहेरी दिएको बताइएको छ । जाहेरीको बारेमा अनुसन्धान भइरहेकोले किटान गरिएका नामहरू भन्न नमिल्ने सब डिभिजन वन कार्यालय विष्णुपादुकाका प्रमुख राजेन्द्र यादवले बताए ।
गएको शनिवार काटिएको रुख १६४.२३ क्युबिक फिटको सखुवाको रुख काटिएको घटना स्थलको मुचुल्काको क्रममा भेटिएको छ ।

घटनामा राजनीतिकरण :
गएको शनिवार धरान २० को भालुढुंगा सामुदायिक वनमा मेयर तिलक राईको निर्देशनमा सखुवाको रुख काटिएको घटना धरानमा हट केक बनेको छ । कहिले भिडियो त कहिले अडियो सार्वजनिक भइरहेका छन् ।

वन समूहका अध्यक्ष बुद्धिमान तामाङले मेयर तिलक राई आफै मेसिन लिएर रुख ढाल्न आइपुगेको बत्ताउँछन् भने यता मेयर तिलक राईले आफ्नो संलग्नता नभएको भन्दै विज्ञप्ति नै जारी गरी सकेका छन् । मेयर तिलक राई भन्छन् “अडियो पनि सम्पादन गरेको अडियो आयो ।”

अहिले सामाजिक सञ्जालहरूमा पनि मेयरले सखुवाको रुख काटेको विषयलाई आआफ्नो तरिकाले लेखेका छन् । यो घटनाको निष्पक्ष छानबिन हुनुपर्छ । तर घटनालाई राजनीतिकरण गर्नु नहुने एक थरी बत्ताउँछन् । वन समुहमै पनि पक्ष र विपक्ष देखिएकाले घटनाको गम्भिर्यातालाई हेरेर निष्पक्ष छानबिन हुनुपर्छ र दोषी माथि कारबाही हुनुपर्ने बताइएको छ ।