झापा  : गत मङ्गलवार साँझदेखी बेपत्ता भएका शिवसताक्षी नगरपालिकाका २९ वर्षीय युवा गोमनसिंह मगरको शव बुधवार स्थानीय रतुवामाई वृक्षारोपण आयोजनाको जङ्गलमा फेला परेको थियो ।

शव फेला परेपछि प्रहरीले सङ्घीय प्रहरी इकाई धरानबाट तालिमप्राप्त कुकुरको सहायतामा घटनाको अनुसन्धान सुरु गरेको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट २९ वर्षीय गोमनसिंह मगरको हत्या उनकै साथी मनकुमार लिम्बूले गरेको खुलेको छ।

यस्तो छ घटनाको नालीबेली
मङ्गलवार साँझ गोमनसिंह मगरको मोबाइलमा फोन आउँछ । उनलाई फोन गर्ने व्यक्ति मगरले चिनेका र आफ्नै साथी हुन्छन् । जिल्ला प्रहरी कार्यालय, झापाका एक अनुसन्धान अधिकृतले बताए अनुसार मगरले नयाँ नम्बरबाट फोन गरेर लिम्बुलाई भेट्न बोलाएका थिए ।

साथीले बोलाएपछि साँझ ६ बजे प्रदेश ०१–०१–०१२ प ५२२५ नम्बरको पल्सर मोटरसाइकलमा घरबाट निस्किएका मगरलाई आरोपी लिम्बुले शिवसताक्षी बजारमा भेटेको पाइएको छ ।

त्यहाँबाट उनकै मोटरसाइकलमा चढेर एक किलोमिटर उत्तरमा रहेको रतुवामाई वृक्षारोपण आयोजनाको जङ्गलतिर गएको अनुसन्धानबाट खुलेको प्रहरी स्रोत बताउँछ ।

उनलाई फोन गर्ने र सँगै जाने व्यक्ति शिवसताक्षी नगरपालिका वडा नम्बर ८ घर भएका मनकुमार लिम्बु थिए ।

लिम्बुले मगरलाई सतासीधाम जाऊ भनी लिएर गएको र अलि पर पुगेपछि मोटरसाइकल चलाइरहेका मगरलाई छुरा प्रहार गरी घाटीमा रेटेको प्रहरी अनुसन्धानले खुलाएको छ । जिल्ला प्रहरी कार्यालय, झापाका एक अधिकृतले भने, ‘बयानका आधारमा गरिएको अनुसन्धानका क्रममा मृतक र लिम्बुले प्रयोग गरेको गरी दुई वटा मोबाइल र हत्यामा प्रयोग भएको छुरा पानीमा फ्यालेको अवस्थामा भेटिएको छ ।’

हत्या गरेर बिहानै हत्यारा पुगे मृतकको घर

लिम्बुले अघिल्लो दिन राती आफ्नै साथीको हत्या गरेर बुधवार बिहान मगरको घरमा पुगेका थिए । उनले गोमानसिंङको खोजी गरेका थिए । मृतकका आफन्तले गोमानसिंङ हिजो साँझ तपाईँले नै बोलाएर गएको र हाल सम्म घर नआएको बताएपछि उनले म सँग नगएको बताएका थिए ।

बुधवार बिहान मगरको शव भेटिएको स्थानमा पनि लिम्बू पुगेका थिए । प्रहरीले घटनास्थलबाटै उनलाई नियन्त्रणमा लिएको थियो ।

प्रहरी श्रोतका अनुसार गम्भीर प्रकृतिका अपराधका घटनाको अनुसन्धानमा अब्बल मानिएका जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख समेत रहेका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले घटनाको मिहिन अनुसन्धान गरेका थिए ।

प्रहरीका अनुसार उनले आवेगमा नभएर पूर्व योजना अनुसार हत्या गरेको देखिएको छ । प्रहरीका अनुसार मगर गत माघ महिनामा बहराइनबाट नेपाल आएका थिए ।

आरोपी लिम्बु पनि बहराइनबाट फर्किएका व्यक्ति हुन् । दुई जनाबिच लेनदेनको विवाद हत्यासम्म पुगेको देखिएको प्रहरी स्रोतले बतायो ।