विराटनगर ः प्रदेश नम्बर १ को प्रदेश पार्श्वचित्र सार्वजनिक भएको छ । 

प्रदेशको आर्थिक, सामाजिक, पूर्वाधार, वातावरणीय तथा सुशासन लगायतका विषयवस्तुको विभिन्न स्रोतबाट प्रकाशित तथ्याङ्कलाई सो पुस्तकभित्र समावेश गरिएको छ । यसै गरी प्रदेशको आधारभूत सूचनाको एकीकृत वस्तुस्थिति विवरण तयार पार्नु, नेपालको विभिन्न सूचकको स्थितिमा प्रदेशको स्थितिको तुलनात्मक अवस्था प्रस्तुत गर्नु र प्रदेश तथा स्थानीय तहका योजना, नीति निर्माण तथा कार्यक्रम तर्जुमा गर्नका लागि आवश्यक आधारभूत सूचना उपलब्ध गराउनु पुस्तकको ध्येय रहेको छ ।

मुख्यमन्त्री शेरधन राईले प्रदेश पार्श्वचित्र तथा वार्षिक विकास कार्यक्रम आर्थिक वर्ष २०७७/७८ नामक पुस्तक सार्वजनिक गर्दै प्रदेश सरकार जनताले चाहेको विकास र समृद्धि पस्कन सक्षम रहेको बताए । प्रदेश निर्माण भएको अवधिदेखि अहिलेसम्म विकास कार्यमा सरकार सही दिशातर्फ अगाडि बढेको तथ्याङ्कले प्रस्ट पारेको उनले जानकारी दिए ।

उनले पार्श्वचित्रले प्रदेश सरकारले आगामी दिनमा नीति कार्यक्रम तथा बजेट निर्माण गर्न तथा विकास र समृद्धिको सूची तयार गर्न सही मार्गदर्शन प्राप्त भएको बताए । मुख्यमन्त्री राईले केही दिन भित्रमा प्रदेश सरकारले २८ महिना अवधिमा गरेका कामका उपलब्धि जनता समक्ष सार्वजनिक गर्ने पनि जानकारी दिए ।प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले यथार्थताको धरातलमा उभिएर पार्श्वचित्र तयार गर्न आयोगका सम्पूर्ण कर्मचारीको योगदान रहेको बताए ।

आयोगका सदस्य पूर्ण लोक्समले पार्श्वचित्रका बारेमा जानकारी दिँदै सोचमा नवीनता र कार्यमा जिम्मेवारिता बहन गर्न पार्श्वचित्र महत्त्वपूर्ण हुने बताए ।