धरान : आज २१ सेप्टेम्बर विश्व अल्जाइमर दिवस । नेपाल लगायत विश्वभर आज विविध कार्यक्रम गर्दै मनाईदैछ ।

अङ्ग्रेजी महिना सेप्टेम्बरलाई विश्व अल्जाइमर महिनाकोरुपमा लिने गरिन्छ । सेप्टेम्बर महिनाको २१ तारिख विशेष दिन हो । तर पनि पुरै महिनालाईनै अल्जाइमर महिना भनिन्छ । विश्व अल्जाइमर दिवस सन् १९९४ बाट मनाउन थालिएको हो । यो महिना र विशेष गरी २१ सेप्टेम्बरको दिन डिमेन्सिया ९स्मरण शक्तिमा क्रमिक ह्रास हुन गई स्मरण शक्ति नै नहुनु सम्बन्धी जागरूकता र डिमेन्सिया वरिपरि रहेको कलङ्कलाई चुनौती दिन अन्तर्राष्ट्रिय अभियानको रूपमा परिचित छ ।

Alzheimer Disease International -ADI ले विश्वव्यापी रूपमा गरेको एक अध्ययन अनुसार प्रत्येक ३ जना व्यक्ति मध्ये २ जनाले यो विश्वास गर्दछन् कि उनीहरूको देशमा डिमेन्सियाको बारेमा थोरै व्यक्ति वा केहीले मात्र बुझ्न सकेका छन् । झन् नेपाल जस्तो मुलुकको अवस्था यही अनुरूप अनुमान गर्न सकिन्छ ।

डिमेन्सियामा मस्तिष्कमा भएका कोशिकाहरूमा एक प्रकारको खराब प्रोटिन जम्मा हुन्छ । जसले गर्दा हाम्रो स्मरण शक्तिमा क्रमिक ह्रास हुँदै जान्छ । अन्ततोगत्वा स्नायु प्रणालीले पुरै काम गर्न छाड्छ । यो रोगमा स्मरण शक्तिको अलावा व्यक्तिको सोच, व्यवहार र भावनालाई असर गर्दछ । यो गहन समस्या हो । प्रत्येक व्यक्तिले डिमेन्सियाको अनुभव आफ्नै तरिकाले गर्दछन् ।

अन्ततः प्रभावित व्यक्तिहरू आफैँको हेरचाह गर्न असमर्थ हुन्छन् र दैनिक जीवनमा जिवनोपार्जन गर्न परिवार वा अरू कसैको मद्दतको आवश्यकता पर्दछ । डिमेन्सियाका १०० भन्दा बढी प्रकारहरू छन् । डिमेन्सियाको सब भन्दा प्रमुख रूप भनेको अल्जाइमर रोग हो ।

डिमेन्सियाका अन्य लक्षणहरू :

स्मरण शक्ति गुमाउनु ,सही शब्दहरू फेला पार्न वा अरू व्यक्तिले के भनिरहेका छन् बुझ्नमा कठिनाइ हुनु,
पहिले आफूले गर्दै आएका नियमित कार्यहरू गर्न कठिनाइ हुनु , व्यक्तित्व र मुड परिवर्तन विना कारण परिवर्तन हुनु।