विराटनगर : मोरङमा माछा पाल्ने पोखरीमा डुबेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

मोरङको ग्रामथान गाउँपालिका-४ बनसखण्डीकी ३५ वर्षीय सीता अधिकारी र उनका १३ र ९ वर्षीय छोरीको मृत्यु भएको हो । १३ वर्षीय छोरी पवित्रा र ९ वर्षीय कृतिका पोखरीमा डुबेपछि उद्धार गर्न गएकी सीताको पनि मृत्यु भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए । उनका अनुसार आइतबार दिउँसो माछा पाल्ने पोखरीमा सीताका दुई छोरी पसेका थिए ।

पोखरीको डिलमा कपडा खोलेर दुई छोरी पसेको देखिएको प्रहरीको दाबी छ । तर गहिरो पोखरीमा दुई छोरी डुबेपछि उद्दारका लागि आमा पसेकी थिइन् । आमाको शव कपडा लगाएकै अवस्थामा फेला परेको थियो । ग्रामथान गाउँपालिका-२ का वडा अध्यक्ष बैजनाथ विश्वासका अनुसार दाजुको माछा पोखरीमा सीता चारो हाल्न गएकी थिइन् ।

उनीसँग दुई छोरी पनि पुगेका थिए । गर्मीको समयमा कान्छी छोरी पौडी खेल्न भन्दै पोखरीमा पसिन् । उनका अनुसार कान्छी छोरी कृतिका डुबेपछि निकाल्न भन्दै पवित्रा पोखरीमा पसिन् । बहिनीलाई निकाल्न पसेकी पवित्रा पनि डुबेपछि सीता पोखरीमा पसिन् । तर पोखरी गहिरो भएका कारण तीनै जना निस्कन सकेनन् । घर नफर्किएपछि साँझमा खोजी गर्ने क्रममा पोखरी भित्र शव भेटिएको थियो ।

प्रहरीका अनुसार सीता दुई छोरी सहित माइतमा बस्दै आएकी थिइन् । उनका श्रीमान् नौ वर्षयता सम्पर्क विहीन छन् । प्रहरीलाई बेलुका ६ बजे जानकारी भएको प्रहरी निरीक्षक ढकालले बताए । जानकारी पाए लगतै पुगेको प्रहरीले राति करिब ८ बजे शव पोस्टमार्टमका लागि कोशी अस्पताल विराटनगर पठाएको थियो । ‘घटनाको प्रकृति हेर्दा पोखरीमा डुबेर मृत्यु भएको देखिन्छ ।’

प्रहरी निरीक्षक ढकालले भने ‘प्रारम्भिक अनुसन्धानमा शङ्कास्पद विषय भेटिएको छैन ।’उनका अनुसार कान्छी छोरीले कपडा लगाएको छैन, १३ वर्षीय छोरीले भित्री वस्त्र लगाएकी थिइन् । आमाको शव कपडा लगाएकै अवस्थामा शव भेटिएको थियो । दुई छोरीको कपडा भने पोखरीको डिलमा रहेको बताइएको छ ।