विराटनगर : प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले स्वास्थ्यकर्मीलाई व्यक्तिगत चाहनालाई थाती राखेर जनताको सेवा गर्न आग्रह गरेका छन् ।
अहिलेको परिस्थितिमा व्यक्तिगत इच्छा, चाहना भन्दा पनि जनताको सेवामा ध्यान दिन आग्रह गरेका हुन् । झापाको अर्जुनधारा नगरपालिकामा शनिश्चरे अस्पतालको उद्घाटन गर्दै मन्त्री घिमिरेले सो आग्रह गरेका हुन् । स्वास्थ्यकर्मीका समस्या सरकारले संवोधन गर्ने मन्त्री घिमिरेले बताए ।

मन्त्री घिमिरेले भने,‘ स्वास्थ्यकर्मीका समस्या समाधानका लागि सरकार तयार छ ।’ मन्त्री घिमिरेले सरकारको निर्देशन अनुसार काम गर्न स्वास्थ्यकर्मीलाई आग्रह गरे । आजदेखि सञ्चालनमा आएको १५ बेडको शनिश्चरे अस्पतालका लागि मानव संसाधन, भौतिक व्यवस्था, उपकरणको लागि प्रदेश सरकारले आवश्यक सहायता गर्ने मन्त्री घिमिरेले बताए ।

अस्पताल उद्घाटन कार्यक्रममा सामाजिक राज्यमन्त्री जसमाया गजमेर, अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना मगर लगायतले बोलेका थिए ।

यसैबिच अर्जुनधारामा सामाजिक विकास मन्त्री घिमिरे र स्वास्थ्यकर्मीबिच अन्तर्क्रिया  पनि भएको छ । मन्त्री घिमिरेले स्वास्थ्यकर्मीका समस्याबारे जानकारी लिनुका साथै उनीहरूलाई आवश्यक निर्देशन पनि दिएका थिए ।