झापा : झापाको गौरादहमा भएको ६५ बर्सिया पार्वता भण्डारीको हत्याबारे अहिले पनि प्रहरीको अनुसन्धान जारी छ । घटना सोमबार भएको भए पनि बुधवार सम्म प्रहरीले अपराधी पत्ता लगाउन सकेको छैन। यस बिचमा प्रहरीले मृतकका श्रीमानसँग करिब २ घण्टा सोधपुछ गरेको प्रहरी उच्च श्रोतले जानकारी दिएको छ । प्रहरीले त्यस अघि मृतकका परिवारले शङ्का गरेका केही ब्यक्तीलाई समेत सोधपुछ गरिसकेको छ ।

अनुसन्धानमा संलग्न एक प्रहरी उच्च अधिकारीले भने, “अनुसन्धान धेरै पाटोबाट गर्नुपर्ने हुन्छ । हामीले मृतकका परिवारले शङ्का गरेका ब्यक्तीसँग आवश्यक सोधपुछ गरिसकेका छौँ । मृतकका श्रीमान् सँग पनि हामीले मङ्गलवार केही कुराहरू सोधपुछ गर्‍यौ । हामी केही दिनमै अपराधी पत्ता लगाउदैछौं ।”

प्रहरीले सोमबार साँझ परिसकेकाले केही क्लु नभेटे पनि मङ्गलवार उज्यालोमा हेर्दा घर अगाडीको धानवारिमा जग्गा सम्बन्धीका कागजपत्र फेला पारेको थियो । यस्तै सोमबार राति अबेर सम्म प्रहरीले सङ्घीय प्रहरी इकाई धरानबाट झिकाएको कुकुरबाट अनुसन्धान सुरु गरेको थियो । डग स्न्याफिङ गराए पनि खासै प्रहरीलाई त्यस बेला सफलता मिलेन । तर अनुसन्धानलाई सघाउ भने पुगेको प्रहरी उच्च श्रोत बताउँछ ।

यस्तै घटनाको दोस्रो दिन मङ्गलवार मृतकका पति भीम भण्डारीसँग प्रहरीले सोधपुछ गर्नु अघि हामीले पनि कुराकानी गरेका थियौँ । उनले हामीसँगको कुराकानीमा आफू सोमबार दिउसो करिब १ बजेको समयमा घरबाट बाहिर निस्किएको र बेलुका करिब साढे ४ बजेको समयमा घर फर्कँदा श्रीमतीलाई रगतको आहालमा भेटेपछि हारगुहार गरेको बताएका छन् । उनले आफू र आफ्नो परिवारलाई २ वर्ष अघि जग्गाको लेनदेनको विषयमा मार्छु र काट्छु भन्दै धम्क्याएको भए पनि अहिले सो घटना साम्य भएको बताएका थिए ।

यस्तै बुधवार बिहान मृतकका नाता पर्ने एक ब्यक्तीले हामीलाई टेलिफोन मार्फत दिएको जानकारी अनुसार अहिले प्रहरीले मृतकका श्रीमान् माथि पनि शङ्का गरेको पाइएको छ । तर मृतकका नाता पर्ने ती ब्यक्तीले भने आफूहरूलाई भने यस्तो कुरामा विश्वास नै नलाग्ने बताएका छन् ।

प्रहरीको अनुसन्धान जारी नै रहेका बेला विभिन्न कोणबाट अनुसन्धान हुनुलाई स्वभाबिच रूपमा लिनुपर्ने झापा प्रहरी प्रमुख एसपी कृष्ण कोइरालाको भनाइ छ । हत्यारा अझै पत्ता लागेन नि भन्ने हाम्रो जिज्ञासामा एसपी कोइरालाले भने, “अनुसन्धान जारी छ । फ्याट्टै यसै हो भन्न सकिने अवस्था रहन्न । तर हामीले आवश्यक सोधपुछको कामलाई जारी राखेका छौँ । कसैलाई नियन्त्रणमा लिएको भन्ने खबर चाहिँ होइन । ”

यस बिचमा शङ्काको सुई जतातिर फर्किएको भए पनि प्रहरीले आफ्नो अनुसन्धानलाई अगाडी बढाइरहेको छ । तर यो घटनाका सम्बन्धमा केही प्रश्नहरू भने पक्कै पनि उब्जाएकै छ । जुन प्रश्न अझैसम्म पनि अनुत्तरित नै छ ।

प्रश्न नम्बर १ :-

घटना भएको दिन अर्थात् सोमबार दिउँसो करिब २ बजेसम्म पनि मृतकको घर नजिकैको घरमा एउटा लघुबित्तको बैठक थियो । त्यहा धेरै जनाको उपस्थित पनि थियो । तर यत्रो घटना हुँदा पनि कसैले सुइँकोसम्म कसरी पाउन सकेनन् ?

प्रश्न नम्बर २ :-

भण्डारीका श्रीमान् श्रीमती सोमबार मात्रै आफ्नो मूल घर स्थानीय ढ्याङ्री भन्ने स्थानबाट गौरादहमा रहेको अर्को घरमा आएका थिए । उनीहरू सोमबारै त्यहा आउदैछन् भन्ने हत्याराले कसरी चाल पायो ?

प्रश्न नम्बर ३ :-

शवको प्रकृति हेर्दा र घटनास्थलको विश्लेषण गर्दा त्यहा हत्यारा र मृतक बिच घम्साघम्सी भएको हुन सक्ने देखिन्छ । चोरीको नियतले यस्तो घटना भएको थियो भने बैङ्कका चेक र केही थान कागजपत्र किन र कसरी घटनास्थल नजिकै फालियो ?

प्रश्न नम्बर ४ :-

तालिम प्राप्त कुकुर पूर्वको सिस्ने खोलामा पुगेर रोकिनु र फर्किएपछि घटनास्थलमा पुगेपछि पटक पटक बाथरुम तिर किन गयो ?

यी र यस्ता प्रश्नको जवाफ अनुसन्धानपछि नै आउला । तर यी प्रश्न सबैका मनमा उब्जिएकै हुन् ।

मृतकको घरमा रहेका कुनै पनि सामग्री चोरी नभएको साथै मृतक महिला र हत्यारा बिच केही हातपात भए जस्तो अनुसन्धानले देखाएको छ । यस्तै शवको छेउमा लुगाहरू छरिएको अवस्थामा रहेको समेत फेला परेको बताइएको छ । यस्तै, अनुसन्धानको क्रममा प्रहरीले घर पछाडि रहेको धान बारीमा कृषि विकास बैङ्कको चेक समेत भेटाएको छ भने बाथरुममा १० रुपैयाँको नोट फेला पार्नुका साथै बाल्टिनमा ज्याकेट भिजाएर राखिएको र जमिनमा लागेको रगत पुछेको जस्तो देखिएको छ ।

बृद्धको आज अन्त्येष्टि

यसैबिच आज मृतकको शव पोस्टमार्टमपछि झापामै ल्याएर अन्त्येष्टि गरिँदै छ । सोमबार राति करिब साढे ११ बजे उक्त शव प्रहरीले स्थानीय जनप्रतिनिधिको रोहबरमा मुचुल्का तयार पारी पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको थियो।