धरान : पछिल्लो समय कोरोना सङ्क्रमण बढ्नुको कारण कोरोना सङ्क्रमितहरूको कनट्र्याक्ट ट्रेसिङ नहुनु र होम आइसोलेसनमा बस्नेहरूलाई सम्बन्धित निकायले अनुगमन र निगरानी नगर्नुले भएको बताइएको छ । 

धरान र इटहरी उपमहानगरपालिकामा कोरोना संक्रमणदर वृद्धि हुनुको मुख्य कारण सङ्क्रमितहरूको कनट्र्याक्ट ट्रेसिङ पहिले जस्तो नहुनुले भएको चिकित्सकहरू बताउँछन् ।

होम आइसोलेसनमा बसेका सङ्क्रमितहरूलाई स्थानीय सरकारले बेवास्ता गर्नु र सङ्क्रमितहरू आफै घर बाहिर हिँडडुल गर्नुले कोरोना सङ्क्रमण बढेको स्वास्थ्य विज्ञहरूको भनाई छ ।

कोरोना सङ्क्रमित भएपछि होम आइसोलेसनमा बसेका सङ्क्रमितहरूले घरमा के कस्तो स्वास्थ्य मापदण्ड अपनाएका छन् ? अनि उनीहरूको स्वास्थ्य अवस्था कस्तो छ ? यसबारेमा स्थानीय सरकारले अनुगमन निगरानी नगरेकोले उनीहरू सामान्य स्वास्थ्य मापदण्ड पनि पुरा नगरी बसेकोले संक्रमणदर फैलिएको हो ।

यस विषयमा स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँले पनि पछिल्लो समय कोरोना सङ्क्रमितहरूलाई उनीहरूको स्वास्थ्य अवस्थाको बारेमा चासो नदिनु र कनट्र्याक्ट  टे्रसिङ नगरिनुले कोरोना सङ्क्रमण बढेको स्विकार्छन् ।

 स्वास्थ्य प्रमुख सागर प्रसाईँ भन्छन् -''अज जसले जे भने पनि कोरोना संक्रमणदर तीव्र गतिमा बढेको छ । यसलाई रोक्नका लागि हप्ता दिन या १५ दिन सम्म लकडाउन गर्नै पर्छ ।" बिरामी अवस्थामा १५ दिन घरैमा बसेर बाहिर हिँडडुल हुन पाएन भने कोरोना सङ्क्रमण फैलिन रोकिन्छ । नत्र सामान्य रुघाखोकी हो भन्दै डुल्ने प्रवृत्तिको विकासले अहिले कोरोना संक्रमणदर बढेको प्रसाईँको दाबी छ । 

कोरोना संक्रमणदरलाई नियन्त्रण गर्न मानिसको चहलपहल बन्द हुनु नै हो तर यो अवस्था लामो समय सम्म पनि रहन सक्ने भएकोले सर्वसाधारण आफैले बुझेर सजग र सचेत हुनुपर्ने सुनसरीका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणी पोखरेल बताउँछन् । 

धरानमा सङ्क्रमित आफै मोटर साइकलमा पिसिआर परीक्षण गर्न जान्छन् 
धरानमा कोरोना सङ्क्रमितको सङ्ख्या ११ सय भन्दा बढी छ ।

केही सङ्क्रमितहरू अस्पतालको आइसोलेसनमा छन् भने धेरै सङ्ख्यामा होम आइसोलेसनमा बसेका छन् । उनीहरू सङ्क्रमित भएर घरैमा बसेका भए पनि पछिल्लो आफ्नो पिसिआर परीक्षण गर्न एन्फा क्वारेनटाइन सम्म आफै हिँडेर, ट्याम्पोमा वा आफै मोटर साइकलमा जाने गरेका छन् ।

यसले गर्दा पनि सङ्क्रमणको जोखिम बढेको स्वास्थ्य विज्ञहरू बताउँछन् । होम आइसोलेसनमा बसेकाहरूलाई के कस्तो सुरक्षा मापदण्ड अपनाएर पिसिआर परीक्षण गर्न जानुपर्ने हो यसबारेमा धरान उपमहानगरपालिकाले कुनै पनि समन्वय नगरेको होम आइसोलेसनमा बसेका कोरोना सङ्क्रमितहरूको गुनासो छ ।

कोरोना सङ्क्रमण भएर पनि घरमा कसरी बसेको छ भनेर कुनै पनि स्वास्थ्य परामर्श नपाएको सङ्क्रमितहरूको भनाई छ । सबै भन्दा दुख लाग्दो कुरा आफै बाइक हाँकेर आफ्नो स्वास्थ्य परीक्षण गर्न एन्फा क्वारेनटाइन सम्म सङ्क्रमितहरू पुग्नुपरेको छ हामीलाई राज्यले स्वास्थ्य प्रोटोकलको बारेमा सिकाएन एक सङ्क्रमितले कपुरी न्युजसंग भने ।