किपट प्रथा खारेज हुँदा किन असली ‘राई !’ हरु नै खुशी भए ? प्रस्ट्याउने कोही 'राई !' हरु छन् ?

  • आश्विन ३०, २०७७
  • ३३८ पटक पढिएको
  • निनाम कुलुङ ‘मंगले’
alt

सबै जातको फुलबारी नामक किताबमा डोरबहादुर विष्टले लेखेअनुसार 'राई भन्ने खास गरी कुनै जातिको नाम भने होइन । यो त गाउँका ठालू वा मुखियालाई जनाउने शब्द मात्रै हो । माझ किराँत, धेरैजसो राईहरु आफुलाई जिमी वा जिमीनदार भन्ने गर्छन्, तापनि ... सुरुमा बाहुनलाई पण्डित, नेवारलाई साहुजी, राणा र ठकुरीलाई बाबुसाहेब, अरु छेत्रीलाई काजी, लिम्बु र थकालीलाई सुब्बा, तामाङ र हिमालीलाई लामा, मधेसका थारुलाई चौधरी, दमाईलाई नगर्ची, सार्कीलाई मिजार, कामीलाई सुनार आदि शब्दले सम्मानपूर्वक सम्बोधन गरेजस्तै मात्रै थियो ।' पाना-५

पाना–९ मा 'यहाँको सबै जग्गा केही वर्षअघिसम्म राईको किपट थियो । यहाँका किपटिया राईबाहेक अरु ठाउँबाट बस्न आएका राई हुन् वा अरु जोसकै जातका हुन् तिनलाई रैती भन्ने चलन थियो । किपटिया राईहरुले जग्गाको नापअनुसारको तिरो नतिरी सबैले बराबरी घरधुरीको तिरो तिर्ने चलन थियो । त्यसले गर्दा थोरै जग्गा हुने किपटियालाई मर्का परेको थियो । त्यसैले धेरैजसो राईहरु किपट खारेज गराउदा खुसी थिए ।' भनी लेखेका छन् । त्यो भनेको के हो ? राई जातिवाला कामरेडहरुसँग आम मानिसहरुलाई चित्तबुझ्दो र प्रस्ट ढंगले दिन सक्ने कुनै जवाफ छ त ?

त्यस्तै सन् २००७ को आदिवासी दिवसमा मैले ‘वास्तवमा राई जात होइन, तर, यो राईलाई जात मान्दा २२ भन्दा बढी किरातीहरुको जातीय अस्तित्व मेटिन आँटेको छ !’ भन्दा भोजपुर जिल्लाका डा. शिवकुमार राईले यो पंक्तिकारलाई ‘भाइ, तपाईले साह्रै रामो प्रश्न उठाउनु भो, किनभने मेरो बाबु पनि ठूलो राई हो/थियो । भूमिसुधार ऐन आएपछि जग्गा-जमीन रैतीको नाममा सार्नु/गर्नुपर्ने भयो । तर, मेरो असली राई बाबुले म पो ‘राई !’ यी मेरा रैती/ढाक्रेहरु कसरी ‘राई !’ भनेर बबाल नै गरेका थिए ! भनी बताएका थिए । स्मरण रहोस्, ‘राई !’ जात वा जाति हो कि ? पदवी वा पगरी मात्रै हो भन्ने बारेमा त्यो वेलाको ठूलो ‘राई !’ अर्थात् ५२ पगरीका ‘राई !’को खलकहरु जस्तै भोजपुर जिल्लाको दिल्पा-अन्नपूर्ण, नागी क्षेत्रका मुकारुङ खलक, संखुवासभा जिल्लाको पाङमा, धुपुको लोहोरुङ खलक, संखुवासभा जिल्लाकै मेवाहाङ खलकको ५२ पगरीका ‘राई !’को जेठा छोराहरु धरान, काठमाण्डौ लगायतको सहर-बजारमा अभ पनि भेटिन्छ, उनीहरुलाई वास्तवमा ‘राई !’ जात हो कि, पदवी वा पगरी मात्रै हो ? सोधखोज गर्दा अझ राम्रो हुन्छ ।

'राई !' को ऐतिहासिक भूमि कहाँ हो ?

त्यस्तै जसरी कुलुङ जातिको पिता-पूर्खाले सुरुमा खाई-खेली आएको/चर्चेको भूमि हालको एक नम्बर प्रदेशको सोलुखुम्बु जिल्लाको उत्तर-पूर्वी क्षेत्र हो/छ, जसलाई “महाकुलुङ” भनेर चिनिन्छ ।

त्यस्तै आठपहरियाको पनि होला, बाहिङको पनि होला, मेवाहाङको पनि होला, बान्तावाको पनि होला, ... अरुहरुको पनि होला । तर, ‘राई !’ को नि ? राईको पनि पिता-पूर्खाले सुरुमा खाई-खेली आएको/चर्चेको भूमि छ भने, थाहा हुनेहरुले बताउनु पर्यो, लेख्नु पर्यो । राईको ऐतिहासिक भूमि यहाँ हो/यो हो भनेर ।

त्यस्तै कुलुङ जातिलाई अरु समुदाय वा जातजातिले कुलुङ भनेर चिन्नुअघि वा हामी कुलुङ जातिहरु कुलुङ जाति भनी चिनिनु/जानिनुअघि हाम्रो पूर्खाहरु २३/२४ जना रहेका छन् । त्यसपछि पनि मुख्य चार वंश वा भनौं पूर्खाहरु रहेका छन् । ती हुन् ‘छेम्सी, ताम्सी, खप्दूलू र राताप्खू ।’ अनि मात्रै हामी कुलुङ जातिका रुपमा स्थापित भएका हौं ।

कुलुङ जातिका रुपमा स्थापित भएर पनि हाल कुलुङ जातिभित्रै ३८० वटाभन्दा बढी पाछा/उपपाछा (थर/उपथर)हरु रहेको छ । त्यही भएर नै कुलुङ-कुलुङबीच विवाह गर्ने गरिन्छ । नत्र त राईवादीले भने जस्तै ‘राई !’ जात र कुलुङ, बाहिङ, मेवाहाङ, बान्तावा, आठपहरिया आदिचाहिँ थर हो भने, कसरी एकै थरभित्र अर्थात् कुलुङ-कुलुङबीच, बाहिङ-बाहिङबीच, मेवाहाङ-मेवाहाङबीच, बान्तावा-बान्तावाबीच विवाह हुन्छ ? कि राई भन्नेहरु पशु समान हुन् ? अथवा राई भन्नेहरुमा पनि मुसलमानमा जस्तै दूधको नाता मात्रै बार्ने, रगतको नाता नबार्ने (एकै आमाको सन्तानबाहेक बाबु एकै आमा फरक भए पनि विवाह गर्ने) प्रचलन छ ? वास्तवमा यो बारेमा पनि राई सर राईनी म्याडमहरुले प्रस्ट्याउनुपर्ने जरुरी देखिन्छ ।

'राई !' जात भए किन लिम्बुहरु राईबाट फेरि लिम्बु भए ?

राई भनेको जात होइन भन्ने त संखुवासभाका वनेम थरका लिम्बुहरुले विसं १८३१ मा राई पद पाएको आधारमा नामको पछाडि राई लेख्दै आएको तर, उनीहरु असलीयतमा लिम्बु भएको थाहा भएपछि राई पद त्यागेर विसं २०६६ मा पुनः लिम्बु जाति नै भएको उदाहरणले पनि देखाउँछ ।

सो समाचार विभिन्न पत्रपत्रिका, रेडियो, टिभी आदिमा पनि आएको थियो । दुई-दुई पटक केन्द्रीय सहरी विकासमन्त्री भएका मोहम्मद इस्तियाक राई पनि राई छन् । उनी नाम सुन्दै मुसलमान होइनन् र ? यदि राई जात वा जाति नै हो भने ती मुसलमान कसरी राई भए ? अर्को महत्वपूर्ण प्रश्न के छ भने, राईको ऐतिहासिक भूमि कहाँं हो ?, राईको वंश को हो ?, राईको मातृभाषा कुन हो ?, राईको मौलिक भेषभुषा के हो ?, राईको मौलिक चाडबाड कुन हो/कस्तो हुन्छ ? 

‘यायोक्खा’ 'राई !' को भाषा हो कि, बान्तावा भाषा हो ?

राईको भाषा भन्दै बान्तावा भाषामा आफ्नाे एनजिओको नाम ‘यायोक्खा’ राखिएको छ । त्यस्तै एक जना मामा (बेलायती सेनाबाट अवकास प्राप्त) ले भने अनुसार राईको भन्दै बान्तावा भाषामा ‘यायोक्खा’ नाम राखेपछि चण्डी नाचको नामचाहिँ चाम्लिङको भाषामा ‘साकेला’ राखिएको अरे ! त्यसैले अब राई सर राईनी म्याडमहरुले बान्तावा भाषाको ‘यायोक्खा’ को सट्टामा आफ्नै (राई कै) भाषाको नाम खोज्दै गर्दा हुन्छ ।

किनभने, भोलि बान्तावाहरुले हाम्रो (बान्तावा) भाषामा तिमीहरुको संस्थाको नाम राख्न दिन्नौं ! भनेमा के हुन्छ ? त्यस्तै संस्थाको नाम ‘यायोक्खा’ राखेपछि चण्डी नाच भनिने नाचको नाम ‘साकेला’ नाम जुन राखिएको छ, त्यो नाम पनि चाम्लिङहरुले राख्न नदिएमा के हुन्छ ? राईको अलग्गै भाषा नबनाएसम्म ‘चण्डी नाच’ नै भन्दा पनि हुन्छ कि ?

‘राई !’ जात होइन भनेर लेखेको लेखचाहिँ किन नछाप्ने ?

गत १ असोज (विसं २०७८) मा ‘सञ्चारकर्मी अनलाइन’मा प्रकाशित खुक्स ...राई को ‘राई जातिको बारेमा केही गन्थन(मन्थन भ्रम, वास्तविकता र अबको बाटो’ शीर्षकको लेखलाई त्यसपछि राईवादी पत्रकारहरुले चलाएको ‘सताब्दी न्युज अनलाइन’, ‘सार्बजनिक अनलाइन’, शिखर सन्देश अनलाइन, नयाँ अनलाइन, ..., ..., आदिले जस्ताको तस्तै र केहीले शीर्षक फेरेर छाप्यो । तर, सो लेखको तार्किक खण्डन वा भनौं ... मेरो लेखलाई भने, ती कुनै पनि अनलाइनहरुले छापेनन् ।

आखिर किन ? हो, राई जात होइन भनी तथ्य, तर्क र प्रमाणसहित लेखेको लेखहरु पनि बहस र छलफल होस् भन्ने हिसावले पनि छाप्नु पर्यो । होइन भने त तपाई (राई भन्ने वा राई पक्षधर पत्रकार) हरु र राज्य पक्ष वा भनौं सरकार पक्षधरको मिडियाहरुबीच के भिन्नता रहयो र होइन ? त्यसैले तपाईँहरुले पत्रकारिताको धर्म र मर्मअनुसार पनि ‘राई जात होइन भनी तथ्य, तर्क र प्रमाणसहित लेखेको लेखहरु पनि बहस र छलफल होस् भन्ने हिसावले छाप्ने गर्न पर्यो । तर, राईको पक्षधरता लिएको एउटा लेख दुई तीन चार वटासम्म अनलाइन न्यज पोर्टलहरुले साभार गरेर छापेको देखिन्छ ... । त्यस्तै महिलाले लेखेको लेख पनि ... ।

[email protected]

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved