धरान : उदयपुरको कटारी नगरपालिका-१४ भदौरे स्थित सिद्धिचरण लोक मार्गमा गए राति भएको स्कारपियो दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको छ। तीन जना गम्भीर घाइते भएका छन् । 

भैरहवाबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्कारपियो दुर्घटनामा परेको प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्मा दासले जानकारी दिएका छन् ।

मृतकमध्ये दुई जनाको पहिचान खुलेको छ भने तीन जनाको पहिचान भइसकेको छैन । एसपी दासका अनुसार दुर्घटनामा परेर मृत्यु हुनेमा ओखलढुङ्गा माने भन्ज्याङ गाउँपालिका–९ का ४५ वर्षीय रामबहादुर सार्की र सोही स्थानका २६ वर्षका कर्ण सार्की रहेका छन् । अन्य ३ जनाको भने पहिचान खुल्न बाँकी रहेको  छ ।

अहिले मृतकको शव र दुर्घटनामा परेको गाडी घटनास्थलमै रहेको छ। ट्राफिक प्रहरीले राति ११ः५५ बजेतिर ब्रेक फेल भएर स्कारपियो दुर्घटनामा परेको हुनसक्ने अनुमान गरेको छ । गाडी सडकबाट करिब नौ सय मिटर तल खसेको छ ।

दुर्घटनामा परेर ओखलढुङ्गाको मानेभञ्याङ-९ की २८ वर्षीय कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र स्कारपियो चालक रुपन्देही मधुवलिया-४ का २८ वर्षीय पवन खड्का गम्भीर घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि कटारी अस्पताल पठाएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।