धरान : कोरोना भाइरसको कारण बन्द रहेको धरान-४ स्थित भेडेटारदेखि देवीथानसम्मको जिपलाइन आजबाट पुनः सञ्चालनमा आएको छ ।

वर्ल्डवाइड नेपाल ग्रुप प्रा. लि. ले करिब ३ करोड रुपैयाँको लगानीमा उक्त जिपलाइन गत वर्ष फागुन २४ गते उद्घाटन गरी संचालन सुरु गरेको थियो । उक्त जिपलाइन भेडेटारदेखि देवीथानसम्म ६ सय ५० मिटर लामो रहेको छ ।

जिपलाइनमा ३० देखि ४० सेकेन्डसम्म साहसिक मज्जा लिन सकिने सञ्चालक विवश भण्डारीले बताएका छन् ।

उक्त जिपलाइनमा तीनवटा आइटम रहेको छ । जसमा क्लासिक, सुपरम्यान र कपल जिपलाइन रहेका छन् । क्लासिक जिपलाइन अर्थात बसेर गरीने जिपलाइनको १२ सय रुपैयाँ पर्ने बताइएको छ । यसैगरी सुपरम्यान अर्थात घोप्टो सुतेर गरीने जिपलाइनको १५ सय रुपैयाँ र टेण्डम अर्थात कपल जिपलाइनको २ हजार रुपैयाँ पर्ने अर्का सञ्चालक बिवश भण्डारीले जानकारी दिएका छन् ।

उनले साहसिक खेल जिपलाइनको मज्जा लिन आउने पर्यटकहरुका लागि ५ लाख रपैयाँ बराबरको दुर्घटना बिमा समेत रहने बताएका छन् ।

Zipline-Vedetar

जिपलाइनमा ८ वर्षदेखि माथिको उमेर समूहले मज्जा लिन सक्ने छन् । बालबालिकालाई भने अभिभावकसँग टेण्डम जिपलाइन गराइनेछ । उक्त जिपलाइन निर्माणको लागि प्रयोग गरिने सम्पूर्ण सामग्री अमेरिका, फ्रान्स लगायतका अन्तर्राष्ट्रिय कम्पनीबाट ल्याइएको भण्डारीले बताए ।

धरानको जिपलाइनको ब्रेकिङ लोड ११ टन रहेको बताइएको छ । चाडपर्वको अवसरमा छठ सम्म जिपलाइनमा २० प्रतिशत छुट समेत रहेको छ ।