धरान : होटल एसोसिएसन अफ धरानले  धरानमा बेलुकाको साढे ९ बजेसम्म आवश्यक स्वास्थ्य मापदण्ड पालना गरी होटल तथा रेस्टुरेन्ट खुला गर्न माग गरेको छ । 

होटल एसोसिएसन अफ धरानका पदाधिकारीहरूले बुधवार सो माग राख्दै धरान उपमहानगरपालिका, इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय र सुनसरी उद्योग वाणिज्य सङ्घमा ज्ञापन पत्र बुझाएका छन् । लकडाउनका कारण विगत ८ महिना देखि बन्द रहेको पर्यटन तथा होटल रेस्टुरेन्ट व्यवसाय गम्भीर एवं जटिल अवस्थामा पुगेको भन्दै ज्ञापन पत्र बुझाएका हुन् । 

गत असोज २५ गते जिल्ला प्रशासन कार्यालय, सुनसरी र स्थानीय सरकारले गरेको निर्णय प्रति आपत्ति रहेको व्यवशायीहरुको भनाई छ । 

निवर्तमान अध्यक्ष सुवर्ण श्रेष्ठले जिल्ला प्रशासन कार्यालय सुनसरी तथा स्थानीय सरकारले होटलहरु ८ बजेपछि बन्द गराउने निर्णय गरेपछि व्यवसायीहरू झन् समस्यामा परेको बताए । ६ महिना लामो लकडाउनले थला परेको होटल व्यवसाय सञ्चालनमा आए पनि बेलुकी ८ बजेको समयमा बन्द गर्नुपर्दा झन् समस्या थपिने उनले बताए । 

होटल तथा रेष्टुरेण्टलाई आवश्यक स्वास्थ्य मापदण्ड कार्यविधि अवलम्बन गराई बेलुका साढे ९ बजेसम्म सञ्चालनको व्यवस्था मिलाई होटल तथा पर्यटन व्यवसाय र व्यवसायीहरूलाई यस विषम परिस्थितिबाट जोगाउन ज्ञापन पत्र मार्फत अनुरोध समेत गरेका छन् ।

DSP-Gyapan-Patra Gyapanpatra Uba-sangh Gyapanpatra-photo