धरान : धरान १४ विजयपुरमा रहेका मठ मन्दिरहरूमा अत्यधिक भक्तजनको भिड बढेकोले कोरोना सङ्क्रमणको जोखिम उच्च भएको भन्दै बुधवार देखि मङ्सिर ६ गते सम्म पुर्णरुपमा बन्द गर्ने निर्णय भएको छ ।

बुधवार-१४ नं. वडाका अध्यक्ष कृष्णप्रसाद भट्टराईको अध्यक्षतामा, इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतको प्रमुख आतिथ्यमा स्थानीयहरूको समन्वयनमा मन्दिर व्यवस्थापन समितिहरु सहित बसेको बैठकले मन्दिरमा सर्वसाधारणद्वारा गरिने पूजामा रोक लगाउने निर्णय भएको हो ।

मन्दिरहरूमा नित्य, नौमित्या पूजा बाहेक अन्य बली चढाउने ,दर्शन गर्ने तथा सर्वसाधारणहरुले गर्ने पूजामा मङ्सिर ६ गतेसम्म पूर्ण रूपमा रोक लगाउने निर्णय भएको छ । बुधवार आएका भक्तजनहरूलाई समेत सुसूचित गरेर फर्काएको भट्टराईले बताए ।

Mandhir-banda-suchana

अध्यक्ष भट्टराईका अनुसार भानुचोकबाट ट्याम्पोमा भक्तजनहरू आउने भएकोले बिहीबार देखि मन्दिर जानको लागि कसैलाई पनि लिएर नआउन ट्याम्पो चालकहरूलाई पनि सचेत गराइने त्यसका लागि प्रचार प्रसारद्वारा सूचित गरिने छ । चोकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बलले अनुगमन गरी शान्ति सुरक्षा दिने छन् । त्यसका साथै वडाका कर्मचारीहरू पनि खटिनेछन् ।

पछिल्लो सयम बुढासुब्बा मन्दिरमा मात्र अत्यधिक भक्तजनहरूको भिड लाग्ने गरेको छ । विजयपुरमा कोरोना सङ्क्रमण र मृत्यु दर पनि बढ्दो रहेपछि दर्शन गर्ने टाढा टाढाबाट आएका भक्तजनहरूको सङ्ख्याको लेखाजोखा नभएपछि कोरोना सङ्क्रमणको जोखिम झन् बढ्ने कुरामा स्थानीयहरू चिन्तित बनेका छन् ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गर्दै धार्मिकस्थलहरुमा पूजाआजा गर्न प्रतिबन्ध लगाए पनि धरानबाट बाहिर विभिन्न जिल्लाबाट ऐतिहासिक, पौराणिक महत्त्वका धार्मिकस्थलहरुमा भाकल गरी बलि चढाउन आउनेको सङ्ख्य बढ्दै गइरहेकोले यस्तो निर्णय गरिएको हो ।