विराटनगर : प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जडिबुडी सम्बृद्धिको आधार भएको बताएका छन् ।

तीन प्रकृतिको वातावरणीय सन्तुलनका कारण नेपालमा जडीबुटीको भण्डार रहेको मन्त्री घिमिरेले बताए । हिमाल, पहाड र तराईको जडीबुटी उत्पादन र प्रशोधन प्राथमिकतामा पर्नुपर्ने मन्त्री घिमिरेको भनाई छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा विराटनगरमा बुधवार सम्पन्न प्रदेश स्तरीय वार्षिक स्वास्थ्य समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा मन्त्री घिमिरेले सो कुरा बताएका हुन् । आयुर्वेदको क्षेत्रमा प्रदेश १ अघि बढ्न सक्ने धेरै आधारहरू रहेको समेत उनले बताए ।

आयुर्वेदलाई तीनै तहको सरकारले प्राथमिकतामा राख्नुपर्ने मन्त्री घिमिरेको भनाई छ । भारतमा उत्पादन हुने आयुर्वेद औषधिको तुलनामा ४० प्रतिशत नेपालमा रहेको बताउँदै मन्त्री घिमिरेले भने, कच्चा पदार्थ भारत र चीन गएर औषधि बनेर नेपाल आउने गरेको छ ।

आयुर्वेद मौलिक पद्धति भएकाले यसको विकास र विस्तार आवश्यक रहेकोमा मन्त्रीको जोड थियो । आयुर्वेद पद्धति पुस्तासँगै लोप हुँदै गएकाले यसको संरक्षण आवश्यक रहेको पनि मन्त्री घिमिरेले बताए । उनले प्रत्येक प्रदेशमा १/१ वटा वैद्य खाना आवश्यक रहेको बताए ।

मन्त्री घिमिरेले भने,‘ निजी क्षेत्रले पनि वैद्य खाना तर्फ ध्यान दिन आवश्यक छ ।’ आयुर्वेदको संरचना टोल र वडामा विस्तार गर्न सके रोजगारी सिर्जना गर्न सकिने बताए । जडीबुटी उत्पादन, प्रशोधन, थेरापी, योग प्रशिक्षकको माध्यमबाट ज्येष्ठ नागरिक, युवा युवती, पर्यटक आदिलाई सेवा प्रवाह गरी मुलुकमा समृद्धि कायम गर्नु पर्नेमा मन्त्री घिमिरेको जोड छ ।

सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले आयुर्वेद कार्यालयहरूले गुणस्तरीय सेवा प्रदान गरी जनतामा यसको महत्त्वका सम्बन्धमा सूचना प्रवाह गर्न आग्रह गरे ।