धरान : क्यान्सर जुनै उमेरको व्यक्तिलाई समेत हुन सक्छ । जस्तै, रगतको क्यान्सर सानो नानीहरूमा देखिने, हड्डीको क्यान्सर बढ्दो उमेरका नानीहरूमा देखिने, ग्रन्थिको क्यान्सर सानो तथा पाको उमेरमा हुन सक्छ । फोक्सो, आन्द्राको क्यान्सर युवाहरूमा समेत पाइन्छ । लक्षणहरूको सही पचिहान समयमा गर्न सकेमा यो रोगलाई सजिलै पराजित गर्न सकिने कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत मेडिकल अंकोलोजिष्ट डा. सोनिया दुलालले बताइन ।

हाम्रो शरीरमा असाधारण किसिमका लक्षणहरू जस्तै घाँटी वा काखिमा गाठाँगुठी आएमा, तौल घट्दै जाने, लामो समय देखिको ज्वरो आउने, निको नहुने र कारण पत्ता नलाग्ने लगायतको लक्षण शङ्कास्पद हुन सक्छ ।

क्यान्सर अर्थात् अबुर्द रोग हाम्रो शरीरमा रहेको कोषहरूको अनियन्त्रित वृद्धि हुने प्रक्रियालाई बुझाउने  अंकोलोजिष्ट डा. सोनिया दुलालले बताएकी छन् । पछिल्ला दिनहरूमा क्यान्सरको उपचारका लागी विभिन्न पद्धतिहरू विकसित हुँदै गइरहेकोले चौथो स्टेजको क्यान्सर भए पनि आत्तिइहाल्नु नपर्ने उनले बताएका छन् ।

'पछील्ला दिनहरूमा क्यान्सरको उपचारका लागी विभिन्न पद्धतिहरू विकसित हुँदै गइरहेको छ । पहिले किमोथेरापी, चिरफार र सेकाइ प्रविधिबाट मात्र क्यान्सरको उपचार हुने गरेकोमा हाल टार्गेटेड थेरापी, इमिनो थेरापी लगायतको विभिन्न पद्धति विकास भइसकेको छ । यसको सेवा नेपालमा समेत उपलब्ध छ ।' उनले भनिन, 'जस्तै फोक्सोको क्यान्सर चौथो स्टेजमा नै रहे पनि सुगर, प्रेसरको बिरामी जस्तै टार्गेटेड थेरापी, इमिनो थेरापीको माध्यमबाट लामो समयसम्म नियन्त्रणमा राख्न सकिन्छ । त्यसैले अहिलेको अवस्थामा चौथो स्टेजको क्यान्सर भए पनि आत्तिइहाल्नु पर्दैन ।'

साधरणतया हाम्रो शरीरमा भएको कोषहरू जन्मिने तथा निश्चित समयमा मृत्यु समेत हुने गर्दछ । तर क्यान्सरमा यी कोषहरू अनियन्त्रित रूपमा वृद्धि हुँदै जान्छ । वृद्धि हुँदै गर्दा सर्वप्रथम केही अङ्गलाई छुने र पछि गएर शरीरको अन्य भागमा समेत सर्ने डा। दुलालको भनाई छ । क्यान्सर रोग लाग्ने बित्तिकै जीवन सकियो भन्ने मनोविज्ञान समेत गलत रहेको उनले बताइन । क्यान्सर रोग लाग्ने बित्तिकै सुरुको चरणमा नै पत्ता लगाई उपचार गरेमा क्यान्सरबाट मुक्ति पाउन सकिन्छ ।

'शरीरको एउटा अङ्गमा मात्र क्यान्सर भएमा उक्त अङ्ग काटेर फ्याँक्न सकिने र पहिलो चरणमा भएमा थप किमो वा रेडियो थेरापी समेत आवश्यक रहँदैन ।' उनले भनिन 'पाठेघरको मुखको क्यान्सर, घाँटीको क्यान्सर किमो रेडियो थेरापी अर्थात् सेकाइको पद्धतिबाट मात्र पनि निर्मूल गराउन सकिन्छ ।'

यस्तै, धेरै थाक्ने, दिनानुदिन सेतो हुँदै जाने, दिसा पिसाबमा रगत देखिने, पाठेघरको मुखबाट फोहोर पानी वा रगत जाने, मासु पलाएको छ, लामो समयदेखि खाना निल्नका लागी गाह्रो हुने लगायतको लक्षण समेत क्यान्सरको हुन सक्छ ।

स्तनमा सानो गाँठागुठी देखिएपनि समयमा नै चिकित्सकको सल्लाह लिन जरुरी देखिन्छ । हामीले सुरूवातको समयमा नै चिकित्सकको सल्लाह लिएमा यस रोग समयमा नै पहिचान हुने र उपचार गरी पूर्ण निको हुन सकिने उनले बताइन ।

को हुन डा. दुलाल ?

डा. दुलाल हाल बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिसिन विभाग अर्हन्तगत रहेर क्यान्सरका बिरामीहरूका लागी विशेषज्ञको रूपमा कार्यरत रहेकी छिन । उनले २०७७ साल साउन १ गतेबाट प्रतिष्ठानमा सेवा थालेकी हुन् ।

उनले काठमाडौँ विश्वविद्यालय अन्तर्गत काठमाडौँ मेडिकल कलेजबाट एमबिबिएस सकाएका हुन । यो मेडिकल अंकुलोजी भनेको बिल्कुलै नयाँ हो । त्यो कारणले हेर्दाखेरी डिएम मेडिकल अंकुलोजीष्ट म भन्दा अगाडी १ जना र मेरो ब्याचको २ जना गरी ३ जना मात्र प्रमाणित भएका छौँ, नेपालबाट' उनले भनिन्।

'डिएम मेडिकल अंकोलोजी भनेको हामी भन्दा पहिले कोही डाक्टर नै थिएन भन्ने त हैन । पहिले नेपालमा डिएम डिग्री नै थिएन त्यो कारणले गर्दा पहिले चाइनाबाट, भारतबाट पढ्ने अथवा २ वर्षको फेलोसिप, १ वर्षको ट्रेनिङबाट डाक्टरहरूले क्यान्सरको बिरामीहरूलाई हेरीरहनु भएको थियो ।' उनी बताउँछिन्, 'मैले यो ३ वर्षे डिएम् सकाएपछि मन्त्रालय अन्तरगत २ वर्षको बण्डमा चाहिँ काम गर्नुपर्ने हुन्छ ।